site stats
बाह्रखरी :: Baahrakhari
देश
कारागारबाट भागेको ४६ दिन बित्यो, ४९ सय ८६ कैदीबन्दी अझै फर्केनन्
डिल्लीबजार कारागार । फाइल तस्बिर ।

काठमाडौं । जेनजी प्रदर्शनका बेला कारागारबाट भागेका करिब पाँच हजार कैदीबन्दी अझै फर्केका छैनन् । फरार भएको ४६ दिन बित्दा पनि कैदीबन्दी कारागार नफर्किदा सुरक्षा चुनौती बढेको छ । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, आइतबार (कात्तिक ९ गते) दिउँसोसम्म फरार कैदीबन्दीको संख्या चार हजार ९८६ रहेको छ, जो जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते देशका विभिन्न कारागारबाट भागेका थिए ।

“कारागारबाट भागेका कुल १४ हजार ५४९ कैदीबन्दीमध्ये अझै चार हजार ९८६ जना फर्केका छैनन्,” निर्देशक न्यौपानेले बाह्रखरीसँग भने । 

नेपालका कारागारमा रहेका कुल ३० हजार ६४१ कैदीबन्दीमध्ये भदौ २४ गते १४ हजार ५४९ जना भागेका थिए । देशका ७५ कारागारमध्ये २८ वटाबाट कैदीबन्दी भागेका थिए । 

भागेका कैदीबन्दीमध्ये हालसम्म ९ हजार ५७७ जना कारागारमा फर्केको निर्देशक न्यौपानेले जानकारी दिए । भदौ २४ र २५ गते कारागारबाट भाग्ने क्रममा १३ कैदीबन्दीको मृत्यु भएको थियो । 

कारागार व्यवस्थापन विभागले पटक पटक सूचना प्रकाशित गरी फरार रहेका कैदीबन्दीलाई कारागारमा फर्कन आग्रह गरेको छ । तर, अटेरी गरी ठूलो संख्यामा कैदीबन्दी अझै कारागार फर्केका छैनन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्