काठमाडां । स्पेनिस शीर्ष डिभिजन लिग ला लिगाको क्लब रियाल मड्रिडले ‘एल क्लासिको’को पहिलो लेगमा बार्सिलोनाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार रियाललाई स्पेनस्थित घरेलु मैदान स्टाडियो सान्टियोगो बर्नबेउमा जित दिलाउन केलियन एम्बापे र जुड बेलिंघमले गोल गरे । बार्सिलोनाका फेर्मिन लोपेजले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको २२औँ मिनेटमा रियाललाई टोलीका एम्बापेले अग्रता दिलाए । तर, रियालले यो अग्रता भने लामो समयसम्म जोगाउन सकेन । ३८औँ मिनेटमा बार्सिलोनाका लोेपेजले गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसअघि सुरुआती १२औँ मिनेटमा, रियालले अग्रता लम्ब्याउने अवसर पाएको थियो ।
एम्बापेले गोल गरे पनि मान्यता दिएको थिएन । ४३औँ मिनेटमा रियालका बेलिंघमले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा ल्याए । रियालले यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित पक्का गरेको हो ।
खेलको इन्जुरी टाइममा बार्सिलोनाका पेड्रीले दोहोरो पँहेलो कार्डपछि रातो कार्डको दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो । खेलपछि मैदान तनावपूर्ण समेत बनेको थियो ।
खेलमा अन्तिम ‘ह्विसिल’को इसारापछि र त्यसको केही मिनेटअगाडि दुवै टोलीका खेलाडीहरूबीच विवाद भएको थियो । जितसँगै रियालले तालिकाको शीर्ष स्थानमा आफ्नो पक्कड बलियो बनाएको छ ।
रियालले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग स्पष्ट ५ अंकको दुरी कायम गरेको हो । शीर्ष स्थानमा रहेको रियालले १० खेलमा नौ जित र एक हारसहित २७ अंक बनाएको हो । पराजित बार्सिलोना भने समान खेल खेल्दा सात जित, एक बराबरी र दुई हारसहित २२ अंकमा सीमित छ ।