काठमाडौं । बिरामीको मृत्यु भएपछि सोमबार (कात्तिक १०) दिनभर ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल तनावग्रस्त बन्यो । अस्पताल क्षेत्रमा प्रहरीले अश्रृग्याँस र लाठीचार्ज गर्यो ।
चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका हुन् । अस्पताल परिसरमा तनाव बढेपछि बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
यही कात्तिक ७ गते अस्पतालको लापरबाहीका कारण एक गर्भवती महिलाको ज्यान गएको आफन्तको आरोप छ । खोटाङको हलेसी तुवचुङ नगरपालिका–९, सल्लेकी मीना राईको मृत्यु भएको थियो ।
राईलाई कात्तिक ७ गते राति ९ गते प्रसूतिका लागि अस्पताल भर्ना गरिएको थियो । सोही राति ९:३० मा सामान्य प्रसूति भएको थियो । प्रसूतिपश्चात शल्यक्रिया गरिएको र सो क्रममा उच्च रक्तश्राव भएपछि मीनाको मृत्यु भएको आफन्तहरूको दाबी छ । हालसम्म अस्पताल प्रशासनले संवादका लागि नबोलाएको उनीहरूको गुनासो छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन २४ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । “दिनभर तनावग्रस्त थियो । हाल अवस्था सामान्य छ । दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता गर्ने तयारी भइरहेको छ,” उनले भने ।
यसअघि पनि घटेका थिए यस्तै घटना
यसअघि २०७६ चैत्र १४ गते पनि उक्त अस्पतालमा डाक्टरको लापरबाहीले बालिकाको मृत्यु भएको घटना बाहिरिएको थियो ।
घरमा सानो खाट (लोबेड) बाट लडेर बेहोस भएकी नौ महिनाकी बालिका कृष्टिना खत्रीको मृत्यु भएको थियो । उपचारका लागि अस्पतालमा पुर्याइए पनि समयमै उपचार नगरेको र उपचारका लागि पटक पटक पहल गर्दा पनि वास्ता नगरेको कारण मृत्यु भएको आरोप अस्पतालमाथि थियो ।
त्यसबखत पनि बालिकाको आफन्तले प्रदर्शन गरेका थिए । बालिकाको मृत्युपछि प्रशासनले अस्पताल परिसरभित्र प्रहरी बोलाएकोे थियो । बालिकाको मृत्युको कारणबारे बुझ्न खोज्दा अस्पताल प्रशासनले जानकारी दिन नचाहेको दाबी आफन्तको थियो ।
त्यस्तै, २०८१ साउन २६ मा उपचारको क्रममा काठमाडौंको कोटेश्वर बस्ने २७ वर्षीया खुसी मगरको पित्त थैलीको उपचारको क्रममा मृत्यु भएको थियो । उपचारमा अस्पतालले गम्भीर लापरबाही गरेको आफन्तहरूको आरोप थियो ।
नेपाल मगर संघको नेतृत्वमा मृतकका श्रीमान् अनुपम बुढामगरसहित आफन्तहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका थिए । उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।
त्यस्तै, ललितपुरको शंखादेवीकी ३५ वर्षीया पार्वती खत्रीको पनि २०८१ साउनमा मृत्यु भएको थियो । त्यसबेला पनि गलत औषधि र डाक्टरको लापरबाहीका कारणले मृत्यु भएको दाबी आफन्तको थियो । मृतकका छोरा कुमार खत्रीका अनुसार, किड्नी ट्रान्सप्लान्ट गरेर भारतबाट आएको करिब १२ महिना नबित्दै उनको आमा पार्वती खत्रीको हातमा समस्या आएको थियो । त्यसपछि किष्ट हस्पिटलमा फलोअपको लागि लिएर जाँदा अस्पतालबाट गलत औषधि दिएको र हात सुन्निएको मृतकका छोरा कुमारको भनाइ छ ।
त्यहाँको डाक्टरले इन्फेक्सन भएको भन्दै अप्रेसन गर्नुपर्ने भनेको केही समयमै आफ्नो आमाको मृत्यु भएको उनले बताए ।