काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०२६ को फिफा विश्वकप खेल्ने चाहना व्यक्त गरेका छन् ।
आउँसो साल उनी ३९ वर्षमा टेक्दै छन् । मेसीको उमेर र फिटनेसका बारेमा प्रश्न गरिरहँदा उनले अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने चाहना व्यक्त गरेका हुन् ।
“मेरो निम्ति विश्वकप खेल्ने कुरा असाधारण हुनेछ र पक्कै पनि मेरो चाहना पनि यही छ । म विश्वकप खेल्ने अर्जेन्टिनाको टिममा हुन चाहन्छु । र, यदि म त्यहाँ भएँ भने टिमलाई सहयोग गर्न चाहन्छु । हामीले अघिल्लो संस्करण जितेका थियौँ र योपटक उपाधि रक्षा गर्न तयार छौँ,” मेसीले एक अन्तर्वार्तामा भने ।
सन् २०२२ मा अर्जेन्टिनाले मेसीकै कप्तानीमा फिफा विश्वकपको उपाधि जितेको थियो । कतारमा आयोजित उक्त प्रतियोगितामा मेसीले ‘गोल्डेन बल’ समेत जितेका थिए ।
मेसीले अर्जेन्टिनाबाट हालसम्म १९५ खेल खेल्दा ११४ गोल गरेका छन् । सन् २०२६ को फिफा विश्वकप खेले मेसीका निम्ति यो छैटौँ संस्करण बन्नेछ ।
हाल मेसी अमेरिकन सकर लिग (एमएलएस)को क्लब इन्टर मियामीमा अनुबन्ध छन् । गएको साता उनले सन् २०२८ सम्मका निम्ति मियामीसँगको सम्झौता नवीकरण गरेका थिए ।