काठमाडौं । विभिन्न देशका प्रतिनिधिले साइबरविरुद्धको अपराधमा ऐक्यबद्धता जनाएका छन् । यही अक्टोबर २४ देखि २५ सम्म भियतनामको हनोनाईमा संयुक्त राष्ट्रसंघले साइबर अपराध रोकथामविरुद्धको महासन्धिमा हस्ताक्षरका निम्ति सभा आयोजना गरेको थियो ।
नेपालका तर्फबाट भने हस्ताक्षर सभामा उपस्थिति थिएन । समारोहमा साइबर अपराधसम्बन्धी विज्ञले आ–आफ्नो धारणा राखेका थिए ।
राष्ट्रसंघको साइबर अपराधविज्ञ तथा नेपाल प्रहरीका पूर्वएसएसपी चन्द्रबहादुर धामीले समारोहमा साइबर अपराध रोकथाम तथा फौजदारी न्यायसम्बन्धी छलफल गरिएको जानकारी दिए ।
उनले भने, ‘‘साइबर अपराध रोकथाम पछिल्लो समय विश्वभरि नै चुनौती बनेको बेला राष्ट्रसंघको उक्त समारोह महत्त्वपूर्ण हो । यसमा नेपालको सहभागिता भएको भए अझ राम्रो हुने थियो ।’’
उक्त महासन्धिमा विश्वका ७२ देशका प्रतिनिधिले हस्ताक्षर गरेका उनले जानकारी दिए ।
धामी नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएर राष्ट्रसंघको साइबर अपराधविज्ञका रूपमा कतारमा कार्यरत छन् ।