दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा मंगलबार (कात्तिक ११) माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसक्रममा उक्त माइक्रो सडकछेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।
घाइते हुनेमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ का ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीय कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गंगाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ३७ वर्षीय डोलराज तामाङ छन् ।
यस्तै, लमजुङको दोर्दी गाउँपालिका–४ का २० वर्षीया गंगा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ की ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ की ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मंगली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस