site stats
बाह्रखरी :: Baahrakhari
देश
जेनजी प्रदर्शनमा अराजकता मच्चाउने अधिकांश आपराधिक पृष्ठभूमिका, धमाधम जाँदै छन् जेल

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी र अन्य आपराधिक गतिविधिमा संलग्नहरूमध्ये धेरै आपराधिक पृष्ठभूमिका युवाहरू भएको तथ्य खुल्दै गएको छ ।

प्रहरीको अपराध रेकर्डअनुसार, जेनजी प्रदर्शनमा उच्छृंखल मच्चाउनेहरूमध्ये केही व्यक्तिहरूविरुद्ध त प्रहरीले दर्जनौँपटक मुद्दा चलाइएको भेटिएको छ ।

त्यसैमध्येका एक हुन्, समीर भनिने राजु परियार । असोज अन्तिम साता ललितपुरबाट पक्राउ परेका परियारविरुद्ध यसअघि प्रहरीले नौवटा कसुरमा मुद्दा चलाएर अनुसन्धान गरेको खुलेको हो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेका परियारले जेनजी प्रदर्शनका क्रममा प्रहरीको अत्याधुनिक हतियार एसएलआर बोकेको फोटो सार्वजनिक भएपछि उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीविरुद्ध चोरी, डकैती तथा ठगी मुद्दामा अनुसन्धान गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । हाल परियारमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यस्तै, जेनजी प्रदर्शनपछि सरकारी कार्यालय प्रवेश गरी कर्मचारीको राजीनामा माग्दै हुर्मत लिने अर्जुन शाही पनि प्रहरीको थुनामा छन् । काठमाडौं प्रहरीको विशेष टोलीले शाहीलाई पनि असोज अन्तिम साता कोटेश्वरबाट पक्राउ गरेको थियो ।

अछामको पञ्चदेवलघरका २६ वर्षीय शाहीको साथबाट प्रहरीले जेनजी प्रदर्शनका क्रममा प्रहरीको हराएको कार्डसमेत फेला पारेको थियो । शाही यसअघि पनि पटकपटक ठगी तथा आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गर्दै आएको खुलेको हो ।

उनीविरुद्ध वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै लाखौँ रुपैयाँ लिँदै युवाहरू ठगी गरेको खुलेको छ । हाल उनी प्रहरीको थुनामा छन् ।

परियार र शाहीबाहेक जेनजी प्रदर्शनमा उच्छृंखल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य अधिकांश आरोपितहरू यसअघि नै कतैकतै अपराधमा जोडिएका रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले जेनजी प्रदर्शनमा प्रहरी कार्यालय जलाउने, लुटपाट गर्नेदेखि व्यक्तिको निजी सम्पत्ति तोडफोड गर्नेहरूलाई धमाधम पक्राउ गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, जेनजी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने ३२ जनालाई प्रहरीले हाल थुनामा राखेर अनुसन्धान जारी राखेको छ ।

भट्टराईले भने, ‘‘जेनजीका नाममा अपराधका घटनामा संलग्न ११० जनामाथि अनुसन्धान भइरहेको छ । ७२ जनालाई हाजिरी जमानीमा छाडिएको छ, ३२ जना थुनामा छन् ।’’

प्रहरीले ६ जनाविरुद्ध भने प्रहरीले अभियोजन गरिसकेको छ । ती ६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

धमाधम जेल चलान
जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका ६ जनामध्ये चार जना प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्याका आरोपित छन् । भदौ २४ मा भएको प्रदर्शनमा वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

प्रहरीले भिडियोका आधारमा असई राय र जवान थापालाई क्रूरतापूर्वक हत्या गर्ने होपप्रसाद पौडेल, टीकाराम बिक, बुद्धिलाल तामाङ र युवराज क्यापछाकीलाई पक्राउ गरेको थियो । ती चार जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

उनीहरूबाहेक प्रहरी हत्यामा संलग्न थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूमाथि अनुसन्धान जारी छ ।

कोटेश्वर प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङको हत्यामा संलग्न अनुपम भण्डारीलाई प्रहरीले कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको छ ।

त्यसरी नै प्रहरीको हत्या आरोपमा सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, दीपक मगर, सुमित तितुङ, अलिश श्रेष्ठ र सौरभ तामाङसमेत प्रहरीको हत्याका आरोपित हुन् । उनीहरूमाथि अनुसन्धान जारी छ ।

प्रहरी हत्याका आरोपितबाहेक प्रहरी वृत्त जनसेवामा आगजनी गर्ने भारतीय नागरिक रोहित सरावगी र निरज पोदारसमेत थुनामा पठाइएको छ ।

त्यसरी नै ललितपुर प्रहरीले पनि जेनजी प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा २६ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २१ जनालाई हाजिरी जमानीमा छाडिएको छ । दुई जनालाई जिल्ला अदालत ललितपुरको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, सरोज आलम र निहर राईलाई थुनामा पठाउने आदेश भएको छ । उनीहरू प्रहरीको हतियार लुटपाटमा संलग्न रहेको प्रहरी बताउँछ । प्रहरीले पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रवदेखि कर्तव्य ज्यान मुद्दासमेत दर्ता गरेको छ ।

यसअघि, भदौ २४ गते आपराधिक गतिविधि गर्नेहरूलाई समेत अनुसन्धान नगर्न गृह मन्त्रालयले असोज ९ गते विज्ञप्ति जारी गरेको थियो । गृहले जेनजी आन्दोलनबारे छानबिन गर्न न्यायिक आयोग बनेकाले त्यसैको सिफारिसका आधारमा मात्रै कारबाही गर्नुपर्ने विज्ञप्ति जारी गरेको थियो ।

तर, प्रहरीले आफ्नो नियमित अनुसन्धान भएको भन्दै आपराधिक घटनामा संलग्नहरूलाई धमाधम पक्राउ गर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालयले जेनजीका नाममा आपराधिक गतिविधिमा संलग्न ३६ हजारभन्दा बढी भिडियो संकलन भएको र त्यसका आधारमा कानुनी दायरामा ल्याइने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्