site stats
बाह्रखरी :: Baahrakhari
देश
मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका पर्यटकको उद्धारमा खटियो सुरक्षा टोली

काठमाडौं । हिमपातको कारण म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ आउँदै गरेका पर्यटकको उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

मुस्ताङ र म्याग्दीको सीमानामा हिमपातका कारण फसेका तीन स्वदेशी र १२ विदेशी पर्यटक गरी १५ जनाबारे ट्राभल्स एजेन्सीले  सुरक्षा निकायलाई जानकारी गराएका थिए । सोपश्चात उनीहरूको उद्धारको लागि टोली खटिएको हो ।

उनीहरूको उद्धारको लागि त्यस ठाउँमा पुग्न सुरक्षा टोली मुस्ताङको सदरमुकामदेखि झन्डै एक दिन पैदल हिँड्नुपर्ने हुन्छ । उनीहरूको अवस्था भने हालसम्म सामान्य रहेको बताइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङले २५० जनाको निःशुल्क परीक्षण गरेको छ । जसमा ९० जना महिला र ६० जना पुरुषको अक्सिजन लेभल र ६० जना महिला र ४० जना पुरुषको रक्तचाप परीक्षण गरिएको हो । उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको हो ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङले हिउँको कारण माथिल्लो मनाङदेखि थाङसासम्मको करिब आठ किलोमिटर अवरुद्ध बाटो हिउँ पन्छाई सुचारु गरेको डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्