site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा २४, मधेस र कोसीमा ३६ घण्टासम्म वर्षाको पूर्वानुमान, यात्रा नगर्न सुझाव
काठमाडौंमा बिहीबार (कात्तिक १३) बिहान वर्षाबीच गन्तव्यतर्फ जाँदै यात्रु । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । देशमा अबका तीन दिन वर्षाको पूर्वानुमान छ । मौसमविद्ले आउँदो शनिबार (कात्तिक १५) बिहानसम्म वर्षाको सम्भावना औँल्याएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले यो अवधिमा काठमाडौंमा २४ घण्टासम्म पानी पर्न सक्ने उल्लेख गरेका छन् ।

मधेस र कोसी प्रदेशमा ३६ घण्टासम्म पानी पर्न सक्ने उनले औँल्याएका छन् । “तीनवटै मोडेल्सले वर्षाको मात्रा फरक देखाए पनि वर्षा हुने ठाउँ र अवधि उस्तै देखाएकोले एकदमै सजग हुनुपर्छ,” उनले बुधबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल देशमा अरबसागरमा बनेको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको प्रभाव छ । अब आउँदो शनिबार बिहानसम्म ‘मोन्था’को प्रभाव रहने मौसमविद्ले बताएका छन् ।

हाल देशका केही स्थानमा पानी परिरहेको छ । दिउँसो र राति थप वर्षा हुने मौसमविद्को भनाइ छ ।

“मोन्थाको प्रभाव सुरु । काठमाडौंलगायत पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा हुँदै । अब यो लगातार हुने वर्षा दिउँसो र राति थप सक्रिय हुने । शुक्रबार बिहानैदेखि थप वर्षा । मनसुनी झझल्को,” जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले वर्षासँगै बाढी, पहिरो, डुबानको जोखिम औँल्याएका छन् । धानबालीमा पनि जोखिम हुने उनले जनाएका छन् ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि ‘मोन्था’को प्रभावले कोसीदेखि गण्डकी प्रदेशसम्म ठूलो वर्षा हुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ३५ सय मिटरभन्दा माथिल्लो भूभागमा भारी हिमपात हुने उनले औँल्याएका छन् । अबका दुई दिन लामो दूरीको यात्रा नगर्न उनले सुझाव दिएका छन् ।

“आज र भोलि यात्रा नगर्नुहुन अनुरोध । आज अपराह्नदेखि हवाई सेवाहरू पनि प्रभावित हुन सक्ने,” उनले भनेका छन्, “सुरक्षित रहनुहोस् ।”

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्