काठमाडौं । देशमा अबका तीन दिन वर्षाको पूर्वानुमान छ । आउँदो शनिबार (कात्तिक १५) बिहानसम्म विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशमा अरबसागरमा बनेको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको प्रभाव छ । अब शनिबार बिहानसम्म ‘मोन्था’को प्रभाव रहने विभागले जनाएको छ ।
“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार (कात्तिक १३) बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
वर्षासँगै बाढीपहिरो, डुबानको जोखिम हुन्छ । यसबाट दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले तीन दिनसम्म सतर्कता अपनाउनुपर्ने जिल्लाका सूची सार्वजनिक गरेको छ । बिहीबार (कात्तिक १३) कोसी र वाग्मती प्रदेशका सबै जिल्लामा सतर्क रहन भनिएको छ । यस दिन गोरखा, नवलपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रुपन्देहीमा पनि सतर्क रहन आग्रह गरिएको छ ।
शुक्रबार (कात्तिक १४) कोसी, मधेस र वाग्मती प्रदेशका सबै जिल्लामा सतर्क रहन भनिएको छ । यस दिन गोरखामा पनि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
शनिबार (कात्तिक १५) संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापामा सतर्क विभागले आग्रह गरेको छ ।
विभागले अद्यावधिक (अपडेटेड) रहनुपर्ने जिल्लाको सूची पनि सार्वजनिक गरेको छ ।
सूची हेर्नोस्–
