site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरमा मिलेर काम गरिरहेका छन् बालेन र गुरागाईं

काठमाडौं । कुनै बेला विवाद र किचलोमा फसेको काठमाडौं महानगरपालिकामा पछिल्लो समय सबै किसिमका काम सहज रूपमा भइरहेको छ । करिब ६ महिनासम्म मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादपश्चात् हाल सहज रूपमा काम भइरहेको हो ।

नियमित बैठकमा मेयर, प्रमुख प्रशासकीय अधिकृत, उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागी हुन्छन् । “सबै कामहरू धमाधम भइरहेका छन् । कुनै समस्या छैन । कुनै पनि कामहरू रोक्नुपर्ने अवस्था छैन,” गुरागाईंले बाह्रखरीसित भने ।

काठमाडौं टावरको नक्सापासका विषयमा मेयरले प्रमुख प्रशासकीय अधिकृतमाथि अनियमितताको आरोप लगाएपछि ६ महिनासम्म विवाद भएको थियो ।

मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिँदा तीन महिनासम्म कुचीकारदेखि मेयरसम्मको तलब रोकिएको थियो । त्यसपछि उपमेयर डंगोलसहित कार्यपालिका सदस्यले गुरागाईंलाई नगरप्रहरीको घेरा तोडेर कार्यालयमा हाजिर गराएका थिए ।

पछिल्लो समय भने उनीहरूबीच भेटघाट, कुराकानी र काम सहज रूपमा हुने गरेको महानगरले जनाएको छ ।

महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, असार २७ गतेयता कार्यपालिकाका दुई बैठक बसेको छ । “सौहार्दपूर्ण वातावरणमा काम, भेटघाट, बैठक र कुराकानी हुन्छ । सबैजना मिलेर महानगरबाट सेवा प्रवाह गरिरहेका छौँ । मेयर साब र प्रमुख प्रशासकीय अधिकृतबीच कुराकानी, भेटघाट र काम सबै हुन्छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्