site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग कात्तिकभरि बन्द, यी सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा सडक अवरुद्ध छ । कतै स्तरोन्नति गरिँदै छ । कुनै सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

रुकुम पूर्वमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यो कात्तिक महिनाभरिका निम्ति बन्द गरिएको छ । उक्त राजमार्गअन्तर्गत सिस्ने गाउँपालिका–६, रानीकोट, किटानी, साँख क्षेत्रमा बाँकी रहेको निर्माण कार्यका निम्ति सडक बन्द गरिएको प्रहरीले जनाएको छ ।

बुधबार (कात्तिक १२)देखि कात्तिक ३० गतेसम्मका निम्ति बाटो पूर्ण रूपमा बन्द गरिएको हो । “मिति २०८२।०७।१२ गतेदेखि मिति २०८२।०७।३० गतेसम्म मध्यपहाडी राजमार्गको रानीकोट, किटानी, साँख सडकखण्डतर्फ सञ्चालन हुने यातायात सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहेको,” प्रहरीले भनेको छ ।

उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । रानीकोट, किटानी, साँखखण्ड प्रयोग गर्ने ठूला सवारीसाधनलाई कैचीमोड–धाउन्ने–पोखरा छिनखेत भएर जान भनिएको छ ।

यस्तै, रानीकोट, किटानी, साँखखण्ड प्रयोग गर्ने साना सवारीसाधनलाई कैचीमोड–धाउन्ने–नाथीगार्ड–धपेबाट जान आग्रह गरिएको छ ।

उता, इलाममा रातको समयमा मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले हरेक दिन बेलुका ७ देखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो । प्रतिकूल मौसमसँगै बिहीबार (कात्तिक १३) बेलुकादेखि अर्को सूचना जारी नभएसम्मका निम्ति सवारी सञ्चालनको रोक कायम रहने जनाइएको छ ।

यस्तै, गएको जेठ ६ गतेदेखि संखुवासभामा कोसी राजमार्ग अवरुद्ध छ । उक्त दिन भोटखोला गाउँपालिका–४, बरुणखोलामा बाढी आएर ह्युमपाइप बगाउँदा खाँदबारीदेखि थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यता, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल अवरुद्ध छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्