बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत नर्सले आन्दोलन जारी राखेका छन् । नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सले समान मागसहित एकीकृत आन्दोलन गरिरहेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले सोमबार (कात्तिक १०)देखि थालेको धर्ना बिहीबार (कात्तिक १३) पनि जारी छ । नर्सले अस्पताल प्रांगणमै धर्ना दिइरहेका छन् ।
उनीहरूले ‘नर्सिङ पेसाको सम्मान गर’, ‘जोखिम भत्ता लागु गर’, ‘हाम्रो श्रमको मूल्य देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
नर्सले तलब वृद्धि, सुरक्षित कार्य वातावरण, पेसागत सम्मान र स्थायी नियुक्तिसहितका माग अघि सारेका छन् । उनीहरूले स्वास्थ्य सेवाको मूल आधार मानिने नर्सिङ पेसालाई सरकारले उपेक्षा गरेको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाइ समितिकी सचिव तथा प्रवक्ता सीता खनालले नर्सका समस्या समाधानका निम्ति पटक–पटक ज्ञापनपत्र बुझाइए पनि सम्बन्धित निकायले ‘गम्भीर’ ध्यान नदिँदा आन्दोलनमा उत्रनुपरेको बताइन् ।