काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेटनजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनीहरू काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए ।
उनका अनुसार, बुधबार (कात्तिक १२) राति गोलढुंगा फूलबारी गेटनजिक गोकर्णेश्वर नगरपालिका–५ का १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेका थिए । त्यही बेला बा४२प ४०६९ नम्बरको मोटरसाइकलमा सवार दुईजनाले धारिलो हरियार देखाई उनीसँग रहेको कालो रङको झोला लुटेर फरार रहेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरूका साथबाट बा प्र ०२–०५० प १६०२ नम्बर मोटरसाइकलको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एकथान, नगद तीन हजार रुपैयाँ, खुकुरी, रेड्मी कम्पनीको मोबाइल, बोबो लेखिएको कालो रङको झोला एक/एकथान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा४२प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपितलाई प्रहरी वृत्त बालाजुमा राखी सोधपुछ थालिएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिए । रासस