site stats
बाह्रखरी :: Baahrakhari
देश
डोल्पामा एक विदेशी पर्यटकलाई  हेलिकोप्टरमार्फत उद्धार गरिँदै, प्रशासनले भन्यो– पदयात्रा नगर्नू

सुर्खेत । जिल्ला प्रशासन कार्यालय डोल्पाले प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएकाले पदयात्रा नगर्न आग्रह गरेको छ । डोल्पा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले शुक्रबार एक सूचनामार्फत हिमपहिरोको जोखिम बढेकाले पदयात्रा नगर्न आग्रह गरेको हो ।

सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार, उच्च हिमाली क्षेत्रमा अस्थिर मौसम र हिउँ पर्ने सम्भावना रहेकाले पर्यटक र स्थानीय सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रशासनले मौसम सामान्य नहुँदासम्मका लागि पदयात्रा रोक्न तथा पहाडका जोखिमयुक्त क्षेत्रमा नजानसमेत सुझाव दिएको छ ।

अहिले जिल्लाभित्र पदयात्रामा रहेका पर्यटक वा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न र कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, डोल्पाको से फोक्सुन्डोबाट पाँच हजारदेखि ५१ सय मिटरको हाइटमा रहेको शेगुम्बा, धौ हुँदै छार्का ताङसोङ गाउँपालिकाबाट धेरैजसो पर्यटक मुस्ताङ जान्छन् । तर, माथिल्लो भागमा हिउँ परेका कारण बाटो चट्टानी भएकाले तत्कालका लागि पदयात्रा नगर्न सूचना जारी गरिएको हो ।

उनका अनुसार, डोल्पामा रहेका ७० पर्यटकमध्ये २५ जना फर्किएको र बाँकी ४५ जना जिल्ला प्रशासन कार्यालय डोल्पाको सम्पर्कमा रहेका छन् । एक जना विदेशी पर्यटकलाई भने लेक लागेका कारण छार्का ताङसोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत मौसम सफा हुनबित्तिकै उद्धार गर्ने तयारी गरिएको छ ।

मौसम विभागले आज साँझबाट मौसम सफा रहने जानकारी दिए पनि डोल्पामा अहिले पनि पानी परिरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

यसअघि, पनि हिउँदे मौसम सुरु भएसँगै डोल्पालगायतका उच्च हिमाली जिल्लामा प्रशासनले हिमपात र हिमपहिरोको जोखिमबारे सचेत रहन नागरिकलाई सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्