site stats
बाह्रखरी :: Baahrakhari
देश
ज्यान मुद्दाका फरार कैदी नै प्रहरी कार्यालय आगजनी र तोडफोडमा

पोखरा । ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका फरार कैदी नै प्रहरी कार्यालय तोडफोड, आगजनी र अन्य स्थानमा चोरी तथा लुटपिटमा संलग्न भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखराको घारीपाटनका २६ वर्षीय विवश जलारीलाई पक्राउ गरी आपराधिक उपद्रव मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

जलारी कास्की कारागारमा ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका व्यक्ति हुन् । भदौ २४ गते कास्की कारागार तोडफोड र आगजनीको क्रममा उनी त्यहाँबाट फरार भएका थिए ।

फरार भएलगत्तै उनी प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ । उनलाई वडा प्रहरी कार्यालय बैदामले बिहीबार (कात्तिक १३) पक्राउ गरेको हो ।

जलारीका साथबाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानोन कम्पनीको क्यामेरा र नम्बर प्लेट नभएको बाइक समेत बरामद गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्