काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ।
‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा आयोजना हुने कन्सर्टका लागि टिमले सुरुका एक हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरेको थियो । बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मै ती सबै जर्सी बिक्री भइसकेको पोखरा एभेन्जर्सले जनाएको छ ।
"पोखरा एभेन्जर्स र नेपथ्यप्रतिको माया र उत्साहले हामी उत्साहित भएका छौँ," पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, "१३ घण्टामै एक हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ ।"
कन्सर्टमा प्रवेशका लागि टिकट पर्ने छैन । पोखरा एभेन्जर्सको जर्सी खरिद गरेका समर्थकले मात्र कन्सर्टमा सहभागी हुन पाउनेछन् ।जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ ।
मंसिर १ गतेबाट सुरु हुने एनपीएलको दोस्रो संस्करणको यतिबेला ट्रफी टुर भइरहेको छ ।