site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुबिधा

‘तपाईं मेरो घर आउन सक्नुहुन्छ,’ नम्रताले अनुमति दिएको स्वरमा भनिन् ।

मैले सोचेँ— सोच्नु मात्र हो, मनमनै म खुसी भएकै थिएँ— उनीसँग कसले अनुमति मागेको छ र ? तैपनि, मैले अनिच्छा जाहेर गर्नेजस्तो अनुहार लगाएर सडकतिर हेरेँ ।

मलाई थाहा थियो, जुनु नम्रताकी छोरी हो । त्यसले के फरक पार्थ्यो र ? काम न काजका प्रश्न म आफैँ बनाइरहेको थिएँ ।

जुनुलाई म प्रेम गर्थें । यो कुनै नौलो कुरो भइरहेको थिएन, संसारमा । केटा र केटीबीच प्रेमसम्बन्ध हुनु अत्यन्त प्राचीन कुरो भए पनि नौलो नै लाग्ने गर्छ ।

प्राचीन भएर पनि पुरानो हुन नसकेको, प्रेम । युवा र युवतीबीच प्रेमसम्बन्ध सधैँ सहज हुने गरेको छैन, यो पनि प्रेमको आविष्कारजत्तिकै पुरानो हो ।

म प्रेमका अड्चन र त्यसको समाधानमा थिइनँ । म मात्र यत्ति चाहन्थेँ, जुनुले हुन्छ मात्र भनोस् र म उसलाई लिएर कतै जाऊँ वा बिहेका लागि औपचारिकता पूरा गर्ने कामा जुटूँ ।

तर, यो कतै जाऊँ वा बिहेको कार्यमा जुटूँ भन्नु एक किसिमको भावुकता नै थियो । जुनुले जबाफ दिइरहेकी थिइन । म भावुक भएर सोच्थेँ— ममा के कमी छ ?

हुन्न ऊ भन्न सक्दैनथी । हुन्छ भन्नलाई घरमा आमा थिइन्, जसलाई ऊ भन्थी— एक्लै छाडेर म कसरी बिहे गरूँ ?

मानिस कहिलेदेखि भावुक हुन थाल्यो, त्यो म सोच्थेँ । तर, यो सोध्ने प्रश्न बन्दैनथ्यो । भावुकता मानिसको जन्मजात गुण थियो ।

तर, जुनु भन्थी, ‘भावुकताले जीवन चल्दैन । चलेको पनि छैन मेरा मोहन !’

म उसको तर्क सुनेर अलि खुम्चिन्छु । म गर्छु आग्राका कुरा ऊ गर्छे गाग्राका । यति सहज थिएन जुनुको मन बुझाउन । ऊ भविष्य सोचेर पाइला चाल्ने पक्षमा थिई । म भन्थेँ – आवेशमा आएर, ‘भविष्य हाम्रै हातमा छ ।’

अहिले जुनुकी आमासँग भेट भएको छ अकस्मात् ।

बिहान म घरबाट निस्कँदा पानी परिरहेको थिएन । वर्षाको समय हुनाले तैपनि छाता बोकेँ । घरबाहिर निस्केको मात्र थिएँ, पानीका ठूलाठूला थोप्ला पर्न थाले । रमाइलै लाग्यो र कालो छाता खोलेर अगाडि बढेँ ।

मोड नाघेपछि पानी यति दर्कियो, म कुनै एउटा पसलको ओतमा उभिन पुगेँ र छाता ओरालेर पसलको सटरतिर लेप्सिएर उभिएँ ।

त्यति बेलै नम्रता पनि धोती अलिकति माथि उचालेर सेता र पुष्ट पिँडौला देखाउँदै ओत लाग्न आइपुगिन् । मैले अनायासै नमस्कार भनेँ । देखादेख त हुन्थ्यो, तर परिचय भएको थिएन ।

उनलाई लाग्यो होला, यो युवकले किन मलाई नमस्कार गर्छ ? परिचय छैन, तर देखादेख हुने टोलकै केटो हो, ठिकै छ, शिष्ट रहेछ ।

तरुनी छोरी हुनेको आमा हुनुमा यही फाइदा छ, ठिटाहरू जतिखेर पनि नमस्कार टक्र्याउँछन् ।

तर, नम्रताको गम्भीरता हेरेर उनले यस्ता सस्ता र अनर्गल प्रचारका कुरा सोच्लिन् जस्तो लागेन । तर, मानिस नै हुन् नम्रता ! मनभित्र के छ भन्ने बाहिर अनुहार हेरेर ठम्याउन सकिन्न ।

मानिस मुखुन्डो लगाएर हिँड्ने जीव हो । समाजमा ढाकछोपको केही वर्जनाका संस्कति उसले प्राचीनकालदेखि नै विकास गर्दै आएको छ र त्यसैमा संस्कारित भएको उसले तिनलाई झट्टै तोड्न सक्तैन ।

तर, मेरा आँखामा नम्रताका सेता र पुष्ट पिँडौला नाचिरहे ।

हामीबीच खास कुरो उप्किन सकेको थिएन । मेसो नै थिएन । तैपनि, मैले स्वागतजस्तै भनेँ, ‘यो पानी थामिने कति बेला हो !’ 

‘किन ? तपाईंलाई घर फर्किन हतारो भयो कि ?,’ यो नम्रताको सुस्त स्वरमा सोधाइ थियो । उनको स्वर मिठो थियो, तर दरो खालको ।

एउटा निष्कर्ष यो हुन सक्थ्यो, पुरानै प्लटजस्तो — छोरीलाई छोडेर आमालाई नै विवाहको प्रस्ताव राख्न सकिन्थ्यो ।

मेरो मनमा कताबाट यो कुरो छिर्‍यो, धिक्कार छ ! मैले आफैँलाई धिक्कारेँ ।

नम्रता हेर्नमा जवान त थिइनन्, तर परिपक्व र गम्भीर थिइन् । यसले उनमा एक किसिमको आकर्षक सुन्दरता कायम राखिदिएको थियो, उमेर र शरीरले ।

जिउ उनको सुगठित थियो, स्वस्थ पुरुषमा एउटा चाहना फुराउन सक्ने । तैपनि, म त्यतातिर लागिनँ — उनीसँग पछि गएर प्रेम निवेदन गर्ने । मैले यो चाहनालाई मनमै दबाएँ ।

छोरी जुनुसँग मेरो प्रेम छँदै थियो ।

आमा र छोरीसँग एकैपटक प्रेम हुन सक्तैनथ्यो, गर्न पनि सकिन्नथ्यो र हुनु पनि उचित थिएन ।

मलाई यो पनि थाहा थियो, नम्रताको लोग्ने थिएन । यस्ती सुन्दर महिलालाई परित्याग गरेर जुनुको बाबा कतै बत्तिएको थियो । भनिन्थ्यो— ऊ जँड्याहा थियो । ऊ बाँचे मरेको थाहा हुन सकेको थिएन ।

कता गएको हो र किन गएको हो भन्ने कसैले पत्तो लगाउन सकेका थिएनन् ।

नम्रताले लोग्नेको आस मारेझैँ सिन्दूर लगाउन छाडिसकेकी थिइन् । तर, उनी रंगीन लुगा लगाउँथिन्, सिँगारपटार गर्थिन् ।

उनी एउटा प्राइभेट स्कुलमा टिचरी गर्थिन् र जुनु तिनले पढाउने स्कुलमा पढ्दै बढेकी र अहिले स्नातक भइसकेकी थिई । यी सब मैले एकै लहरमा सोच्न भ्याएको थिएँ ।

तर, मेरा मनमा दुबिधा पैदा भएको थियो— कि छोरीले मानिन भने आमासँगै घरबार गर्न सकिन्छ ।

मलाई घरतिर फर्कन हतार थिएन । पानी बसिसकेको थियो । दुईचार थोपा पसलको बलेँसीबाट यदाकदा चुहिरहेका थिए । मैले छाता टकटक्याएर हिँड्ने तर्खर गरेँ ।

त्यति बेलै मौका छोपेझैँ नम्रताले भनिन्, ‘तपाईं घर आउन सक्नुहुन्छ ।’

सुन्दा प्रश्न गरेझैँ लाग्ने वाक्यगठन थियो र त्यसलाई आफूखुसी घर आउने निम्तो पनि मान्न सकिन्थ्यो ।

मलाई लाग्यो, अहिलेसम्म म जुनुको घर जानबाट प्रतिबन्धित थिएँ र अहिले बल्ल आएर आज यहाँ कुनै पसलको छज्जामुनि यी नम्रतासँग भेट भएपछि र मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि घरभित्र छिर्ने निमन्त्रणा पाइएको छ ।

लाग्यो, नम्रताले मलाई अध्ययन गरेको हुनुपर्छ । महिलाहरूको दृष्टि तीक्ष्ण हुन्छ भन्छन् । मलाई उनले लुगैबाट छेडेर भित्रसम्म हेरेको हुनुपर्छ । मलाई गर्व लाग्यो, नम्रता जो मेरी प्रेमिकाकी आमा हुन्, उनले पनि मलाई उपयुक्त पात्र ठानिन् — छोरीका लागि पनि र...।

म यो सोचमा जान सकिनँ, आफ्ना लागि पनि । यसमा पापबोध थियो । उनकी छोरीलाई प्रेम गर्ने तर उनलाई पनि ताक्ने ? बबाल भइरहेथ्यो ।

तर, नम्रताले मिठो स्वरमा भनेकी त थिइन्, ‘तपाईं मेरो घर आउन सक्नुहुन्छ ।’

मलाई लाग्यो, लागेको कुरा भन्नमा के बाधा छ र ? भनिहालौँ, यो खुला निम्तो हो, बिनाछेकबारको ।

मेरो पापी पुरुष मन फेरि फर्क्यो, मैले उनीप्रति अनुचित सोच्नु पाप हो भने पनि मन त मेरो पापी पापी भइसकेको रहेछ र यस्तो सोच्न पुगेको रहेछु— उनैले मलाई घरै आऊ भनेपछि जानुमा के दोष ?

दोष त के हुनु छ र ? घर गएर गफसफ गर्दा हुन्छ । नम्रताको एकल जीवनमा केही रमाइलोपन आउन पनि सक्छ । होइन, नम्रताको एकल जीवनमा केही रमाइलो प्रदान गर्न सकिन्छ ।

प्रदान गर्न सकिन्छ भन्नुमा मैले पुरुषको बडप्पन अनुभव गरेँ ।

छुट्टिँदा मैले नम्रताको आमन्त्रणमा हुन्छ वा हुन्न केही भनिनँ । मलाई डर थियो, कतै म उनीसँग गफिँदै उनकै घरसम्म नजाऊँ र बैठककोठामा आरामले बसेर तातो चिया सुर्क्याउन नथालूँ ।

यति बेला जुनु पसलतिर गएकी हुनुपर्छ, नभए घरैमा । पसलतिर गएको बेलामा म आएर एक्ली नम्रतासँग हाँस्दै गफिएको जुनुले थाहा पाई भने के सोच्ली ? शंका गर्ली कि नगर्ली ?

के उसकी आमाको चरित्र शंकास्पद छ ? यो प्रश्नमा म फस्न चाहिनँ ।

तर, घरमा मेरो बिहेको कुरो चलिरहन सक्थ्यो, यदि मैले स्वीकृति दिएमा । घरको म सर्वेसर्वा थिएँ । बाबा भए पनि म पढेलेखेको अधिकृत । घरमा मेरो हैकम छ । मैले सास फेरेमा मात्र सबैले सुविधाले सास फेर्ने साहस गर्थे ।

म सडकको पेटीपेटी हिँड्दै नम्रताको आँखाबाट ओझेलमा परेँ । यस्तो लाग्यो मलाई । नम्रता म हिँडेपछि लगत्तै घरतिर लागेकी हुन सक्छिन् भने मैले म पेटीपेटी हिँडेको नम्रताले हेरिरहिन् भन्नु व्यर्थैको अर्थात् आधारहीन सोचाइ थियो ।

केही दिन भयो । म बडो दुबिधामा थिएँ । पछिपछि बिर्संदै गएँ भन्ने भ्रम पनि निर्माण गरेँ हुँला मनमनै— नम्रताको घर अर्थात् मेरी प्रेमिका जुनुको घर म जान सक्छु ।

एकदुईचोटि उनीहरूको घरअगाडिको बाटो पार गर्ने अवसर पनि परेको हो । तर, त्यस्तो मौकामा मैले सोच्थेँ— यो घर नम्रताको हो, गए हुन्छ, उनले आउन भनेकी पनि छन् ।

तर, म हिँड्दा हिँड्दै त्यो घरभन्दा अगाडि हिँडिसकेको हुने रहेछु, मनमा दुबिधा बोकेर कि जाऊँ कि नजाऊँ ?

यद्यपि, मलाई जुनुसँग सोध्नु थियो— हामी बिहे गर्ने हो कि होइन ?

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्