मकवानपुर । हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खस्दा शनिबार (कात्तिक १५) साँझदेखि उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए । गएको बिहीबारदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए ।
उनका अनुसार, सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगा झर्ने क्रम नरोकिएकाले समस्या भइरहेको उनले जानकारी दिए ।
सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस