site stats
बाह्रखरी :: Baahrakhari
देश
यी स्थानमा मंगलबार वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन सुझाव
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आउँदो मंगलबार (कात्तिक १८) वर्षा र हिमपातको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त दिन बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा/हिमपातको पूर्वानुमान छ । “...कार्तिक १८ गते (मंगलबार)को दिन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

dsgm-1762052623.png
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पश्चिमी वायु केही सक्रिय हुँदा मंगलबार र बुधबार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

“आउँदो मंगलबार र बुधबार सुदूरपश्चिमको उत्तरी भूभाग तथा कर्णालीमा पुनः हल्का वर्षा र हिमपात देखिन्छ । यो हिमपात डोल्पा र मुस्ताङसम्म आइपुग्न सक्छ । सुरक्षित रहौँ,” मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार बेलुका फेसबुकमा लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुन सक्ने बताएका छन् ।

आइतबार (कात्तिक १६) भने देशका केही स्थानमा वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले हाल कुनै सक्रिय मौसम प्रणाली नभएको बताएका छन् । हिजोअस्तिका दुई (मोन्था चक्रावातको प्रभाव र अरबसागरमा बनेको न्यूनचापीय) प्रणालीको अवशेषले देशको पूर्वी भागका धेरै ठाउँमा बाक्लो बादल लागेको उनले उल्लेख गरेका छन् ।

“कुनै सक्रिय मौसमी प्रणाली त छैन, तर हिजोअस्तिका दुईवटा प्रणाली : मोन्थाको अवशेष र अरबसागर को न्यूनचापीय अवस्थाको अवशेषले देश को पूर्वी भागको धेरै ठाउँमा बाक्लो बादल छ,” उनले आइतबार बिहान फेसबुकमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “त्यही कारणले घाम टल्केको छैन, मधुरो–मधुरो छ । बिस्तारै हट्दै जाने । पूर्वी नेपालको पहाडी भागको एक–दुई ठाउँमा हल्का वर्षा हुनसक्छ । कार्तिक १६ गते बिहान ७.३० ।”

adsfg-1762052940.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्