मकवानपुर । सडकमा माथिबाट खसेका ठूला ढुंगा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालनमा ल्याइएको छ ।
अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुंगा खस्दा आइतबार (कात्तिक १६) बिहान ६ बजेदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो । ती ढुंगासहितको पहिरो पन्छाएपछि बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।
हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक भने अझै सञ्चालन हुन सकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खस्दा शनिबार (कात्तिक १५) साँझदेखि उक्त सडक अवरुद्ध भएको हो ।
डीएसपी बोगटीका अनुसार, सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भएको उनले बताए । रासस