काठमाडौं । सञ्जित सिंह एएफसी एसियन यू–१७ कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । आइतबार (कात्तिक १६) अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिंहलाई छनोटको निम्ति राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता दिएको हो ।
आजै एन्फा महासचिव किरण राईले प्रशिक्षक सिंहलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । सिंहले यसअघि श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व गरेका थिए ।
एन्फाले सिंहसँगै छनोटको निम्ति सहायक प्रशिक्षकमा रामचन्द्र थापा र देवकुमार मडेनलाई नियुक्त गरेको छ । त्यसैगरी, टिमको म्यानेजरमा भरतबहादुर बस्नेत, गोलकिपर प्रशिक्षकमा प्रविन खाँछे श्रेष्ठ, फिसियोमा विनोद भट्टराई र टिम डाक्टरमा धमेन्द्रकुमार यादव नियुक्त भएका छन् ।
छनोटमा नेपाल समूह ‘जी’ मा छ । समूहमा नेपालसँगै ओमान, अफगानिस्तान, घरेलु टोली म्यानमार र सिरिया छन् । नेपालले सिरियासँग नोभेम्बर २२ मा सिरियासाग खेल्दै छनोटको सुरुआत गर्नेछ ।