काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको रंगशाला निर्माणको प्रगति बुझ्न शनिबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता विश्वविद्यालय परिसर पुगे । उनीसँगै सचिवालयका कर्मचारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव पनि त्रिवि रंगशालाको प्रगति बुझ्न पुगे ।
गत वर्षको असार अन्तिममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछिको पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशालामा बनाउने थियो ।
असारमा मन्त्रिपरिषद्को निर्णय भए पनि प्यारापिटका निम्ति फागुन १९ गतेमात्रै ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम थालियो । मैदानको प्यारापिट निर्माणको जिम्मा बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्सले पाएको थियो । कम्पनीले प्यारापिटको काम पनि सम्पन्न गरिसकेको छ ।
यस्तै, फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको थियो । फ्लडलाइट निर्माणका निम्ति फागुन २२ गते मन्त्रालयले विसान ईश्वरी जेभीसँग सम्झौता गरेको थियो । फागुन २३ देखि नै काम थालिएको थियो ।
प्यारापिटको काम सम्पन्न भइसके पनि फ्लड लाइटमा ढिलाइ हुँदा रंगशाला निर्माणको पहिलो चरण अझै सम्पन्न भइसकेको छैन ।
तत्कालीन प्रधानमन्त्री ओलीले गत वर्षको असार मसान्तमै ३०० दिनभित्र काम सक्ने गरी दाबी गरेका थिए । तर, ओलीको घोषणाले एक वर्ष चार महिना पार गरिसक्दा पनि निर्माण कार्य अझै जारी छ ।
रंगशाला निर्माणको गति आफ्नै शैलीमा बढिरहे पनि त्रिवि मैदान पुग्ने मन्त्री र सरकारी पदाधिकारीहरूको लर्को उदेकलाग्दो छ ।
हालसम्म कोको पुगे त्रिवि मैदान ?
०८१ जेठमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डल हुँदा तत्कालीन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका थिए । ०८१ जेठ १७ गते कीर्तिपुर पुगेका श्रेष्ठले त्यसबेला नै त्रिवि क्रिकेट मैदानमा नयाँ संरचना बन्ने घोषणा गरेका थिए ।
त्यसयता, त्रिवि क्रिकेट मैदान पुग्न तँछाडमछाड गर्नेमा खेलकुदमन्त्री, सहरी विकासमन्त्रीसँगै प्रधानमन्त्री आफैँ पनि छन् ।
०८१ फागुनमा निर्माण सुरु भएपछि चैत ७ उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खेलकुदमन्त्री तेजुलाल चौधरी स्थलगत निरीक्षणका निम्ति त्रिवि परिसर पुगे । तत्कालीन सहरी विकासमन्त्रीले सिंहले रंगशालाको निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए ।
“यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिंगो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” सिंहले भनेका थिए ।

स्थलगत निरीक्षण गरेको १२ दिनपछि नै अर्थात् चैत १९ गते मन्त्री सिंहले आफ्नै कार्यकक्षबाट नै निर्माणको निरीक्षण गर्न मिल्ने गरी क्यामेरा जडान गरेको जनाएका थिए ।
०८२ जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओली आफैँ स्थलगत निरीक्षणका निम्ति त्रिवि मैदान पुगे । उनीसँगै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह पनि मैदान पुगेका थिए । मैदान पुगेर तत्कालीन प्रधानमन्त्री ओलीले निर्माण कार्य उत्साहपूर्णरूपमा भइरहेको जनाएका थिए ।
त्यसको १५ दिनपछि नै ०८२ असार ९ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री चौधरी फेरि त्रिवि क्रिकेट मैदान पुगे । ०८१ असार ३१ गतेको घोषणाअनुसार, ३०० दिनको समयसीमा वैशाख २४ गते नै समाप्त भए पनि मन्त्री चौधरीले निर्माणकार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए ।
०८२ भदौ १८ गते राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति पनि मैदानको स्थलगत निरीक्षणका निम्ति पुगेको थियो ।
०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनअघि फेरि उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले मैदानको स्थलगत निरीक्षण गरे । भदौ २२ गते कीर्तिपुर पुगेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह रंगशाला निर्माणमा केही ढिलाइ भए पनि तुलनात्मकरूपमा राम्रो भएको बताएका थिए ।
०८२ भदौ २३ र २४ को प्रदर्शनपछि ओली नेतृत्वको सरकार ढल्यो, अन्तरिम सरकार बन्यो । त्यसपछि पनि त्रिवि क्रिकेट मैदानमा स्थलगत निरीक्षण गर्ने मन्त्रीहरूको लर्कोमा कमी भने आएको छैन ।
-1760001753.jpeg)
०८२ असोज २३ जेनजी प्रदर्शनपछि ऊर्जा, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका कुलमान घिसिङ रंगशालाको निरीक्षणका निम्ति पुगे । नयाँ नेतृत्व सुशीला कार्की मन्त्रिमण्डलमा छानिएका घिसिङले पुरानै मन्त्रीको शैलीलाई निरन्तरता दिए । रंगशाला पुगेर उनले ‘रंगशाला निर्माणको काम महत्त्वका साथ हेरिएको हुँदा चाँडो काम सकेर हस्तान्तरण गर्न’ निर्माण कम्पनीलाई निर्देशन दिए ।
जेनजी प्रदर्शनपछि बनेको मन्त्रिमण्डलका एकमात्र जेनजी मन्त्री युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि रंगशाला निरीक्षण गर्नमा ढिलाइ गरेनन् । कार्की नेतृत्वको सरकारले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा कात्तिक ९ गते गुप्ताले खेलकुदको जिम्मेवारी पाएका थिए । यसको ६ दिनपछि नै गुप्ता त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न कीर्तिपुर पुगेका थिए ।

कीर्तिपुरबाट उनले भने, “क्रिकेट मैदानको पुनर्निर्माणले नेपाली क्रिकेटरहरूको मनोबल उच्च बनेको छ । क्रिकेट मैदानलाई थप उत्कृष्ट बनाउन क्यानसँग निरन्तर छलफल भइरहेको छ ।”
