site stats
बाह्रखरी :: Baahrakhari
देश
मितव्ययी र सरल ढंगले प्रदेश सरकार सञ्चालन गर्न सुझाव

विराटनगर । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, प्रदेश निकायमा भएको क्षति तथा आगामी कदमबारे कोसी प्रदेश सरकार र सञ्चारकर्मीबीच छलफल भएको छ । 

संसदीय पत्रकार मञ्च, कोसी प्रदेशको आयोजनामा आइतबार भएको छलफलमा सञ्चारकर्मी र संसदीय समितिका सभापतिहरूले सरकारलाई मितव्ययी र प्रभावकारी ढंगले सञ्चालन गर्न सुझाव दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले आन्दोलनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउँदै २५ प्रतिशत बजेट कटौती गरी पुनर्निर्माणमा लाग्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार, बैठक भत्ता, भ्रमण, गोष्ठीलगायत अनुत्पादक खर्च कटौती गरी चालु खर्च घटाउने नीति अपनाइएको छ ।

भण्डारीले क्षतिग्रस्त संरचना पुनर्निर्माणपछि कम खर्चमा प्रदेश सभा बैठक सञ्चालन गर्न मोरङको कटहरीस्थित कृषि बजारमा सचिवालय राख्ने तयारी भइरहेको बताए । उनले सवारीसाधन खरिदमा रोक लगाइएको र अत्यावश्यक अवस्थामा मात्र अर्थ मन्त्रालयको स्वीकृतिपछि खरिद गर्न पाउने व्यवस्था गरिएको पनि जानकारी दिए ।

प्रदेश सभा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले आन्दोलनबाट क्षति पुगेका मन्त्रालय र निकायको पुनर्निर्माण तत्काल गर्नुपर्ने सुझाव दिए । उनले जनताको प्रतिनिधित्व गर्ने प्रदेश सभालाई वैकल्पिक संरचनामार्फत छिटो सञ्चालनमा ल्याउन जोड दिए ।

पर्यटन तथा वातावरण समितिका सभापति रामदेश यादवले सभा सञ्चालनका लागि कृषि बजार उपयुक्त विकल्प हुने बताए । उनले सरकारी स्वामित्वको भवन प्रयोग गरे प्रदेश सरकारको खर्च घट्ने उल्लेख गरे ।

कार्यक्रममा सञ्चारकर्मीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र स्वतन्त्र सञ्चार माध्यमको संरक्षणमा सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सरकार मितव्ययी र सरल ढंगले सञ्चालन भएर उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखिन् ।

आन्तरिक मन्त्रालयका सचिव रामप्रसाद आचार्यले आगजनी र तोडफोडका कारण मन्त्रालय र सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिँदै, इन्धन र सञ्चालन खर्च कटौती गरी आवश्यक सेवाहरू छिट्टै पुनःसञ्चालन गरिने बताए ।

कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारी, सञ्चारकर्मी र प्रदेश सभा सचिवालयका प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्