site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँचथरमा छोराले गरे ६९ वर्षीय बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ–१, फेदापाका ३१ वर्षीय सन्देश राईले बाबु ६९ वर्षीय युवराजको हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

युवराज आइतबार (कात्तिक १६) बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका निम्ति जिल्ला अस्पताल फिदिम ल्याइएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्