काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको डिभिजन वन कार्यालयमा कार्यरत अधिकृत (दशौँ तह) दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै अख्तियारले सोमबार (कात्तिक १७) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अख्तियारका अनुसार, श्रेष्ठ ०४८ असार २६ गते सरकारी सेवामा प्रवेश गरेका थिए । सेवामा प्रवेश गरेदेखि ०८० फागुन १६ गतेसम्मको अवधिमा उनले दुई करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ आर्जन गरेको पाइएको थियो ।
सोही अवधिमा उनको खर्च भने तीन करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ थियो । समग्रमा कुल आयभन्दा व्यय एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बढी भई स्रोत पुष्टि हुन नसकेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले दायर गरेको मुद्दामा श्रेष्ठसँग एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँबराबरको सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ ।