काठमाडौं । भारतमा सम्पन्न एकदिवसीय महिला विश्वकपको फाइनलमा भारतीय ओपनर शेफाली वर्माले गरेको प्रदर्शन कुनै नाटकीय कथाजस्तो लाग्थ्यो ।
त्यसो किन भने विश्वकपका निम्ति भारतले घोषणा गरेको सुरुआती स्क्वाडमा उनको नामै थिएन । तर, उनै शेफालीले भारतलाई विश्वकपको उपाधि मात्र दिलाइनन्, फाइनलमा ’प्लेयर अफ दी म्याच’को अवार्ड पनि जितिन् ।
अक्टोबर २६ मा बंगलादेशविरुद्धको खेलमा भारतीय ओपनर प्रतिका रावल घाइते भइन् । रावल घाइते भएर टुर्नामेन्टबाट बाहिरिएपछि शेफालीले विश्वकपमा खेल्ने मौका पाएकी हुन् ।
त्यही कारण सुरुआती स्क्वाडमा नपरेकी शेफालीले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नु र प्लेयर अफ दी म्याचको अवार्ड जित्नुलाई धेरैले क्रिकेटमा लेखिएको नाटकीय कथा भनेका छन् ।
अनि, दक्षिण अफ्रिकासँगको फाइनल भएको दिन अर्थात् आइतबारलाई शेफाली वर्माका निम्ति इतिहासकै महत्त्वपूर्ण दिन ।

भारतमै आयोजना भए पनि यो एकदिवसीय महिला विश्वकप शेफालीका निम्ति नबनेको टिप्पणी गरिएको थियो । कारण, विश्वकपका निम्ति घोषित १५ सदस्यीय टोलीमा उनको नाम थिएन । न त उनी वैकल्पिक खेलाडीको सूचीमै थिइन् ।
तर, प्रतियोगिताको टोलीमै नअटाएकी शेफालीले विश्वकप नै आफ्नो बनाइन् । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ५२ रनको जित निकाल्दा भारतबाट व्यक्तिगत उच्च रन बनाउने ब्याटर थिइन् उनी ।
बलिङतर्फ पनि उनले दुई विकेट लिइन् । यही प्रदर्शनले उनलाई विश्वकपको फाइनलमा प्लेयर अफ दी म्याचको अवार्ड दिलायो ।
जसले शेफालीलाई १५ वर्षको उमेरमै भारतको सबैभन्दा कान्छी ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलाडीका रूपमा उदाएको देखेका थिए, उनीहरूलाई शेफालीको यो प्रदर्शन अस्वाभाविक लागेको छैन ।
शेफालीमा देखिएको आत्मविश्वास, साहस र खेललाई आफ्नो पक्षमा मोड्न सक्ने क्षमता । विश्वकप फाइनलको यो इनिङले उनले आफूलाई थप प्रमाणित गरिन्, आक्रामकताभित्रको संयम, परिपक्वता अनि विश्वकप फाइनलजस्तो ठूलो मञ्चमा गरेको अलराउन्ड प्रदर्शन ।
गत वर्ष सीमित ओभरको टोलीबाट बाहिर रहेपछि शेफाली घरेलु क्रिकेटमा फर्किएकी थिइन् । त्यही लय खोज्दै, जसले उनलाई कुनै बेला भारतको सबैभन्दा आक्रामक ओपनर बनाएको थियो । उनी टी–२० टोलीमा फर्कन सफल भइन्, तर एकदिवसीयमा फर्कन पाएकी थिइनन् ।
त्यसपछि आयो अनपेक्षित मोड ।

प्रतिका रावलको चोटका कारण शेफालीलाई एकदिवसीय टोलीमा फर्कने अवसर मिल्यो, त्यो पनि विश्वकपको सेमिफाइनलअघि ।
“मलाई लाग्छ, यो सबै भाग्य हो, म साँच्चिकै विश्वास गर्छु,” भारतीय कप्तान हरमनप्रीत कौरले फाइनलपछि पत्रकार सम्मेलनमा भनिन्, “उनले (शेफाली) आफूलाई (प्रतिकाको) चोटका कारण आएको महसुस नगरोस् भन्ने हामी चाहन्थ्यौँ ।”
सेमिफाइनलमा शेफालीले खासै प्रभावशाली प्रदर्शन गर्न सकिनन् । तर, आइतबार उनले सबैलाई चकित पारिन् ।
फाइनलमा जब शेफाली ब्याटिङ गर्न आइन्, उनी आफ्नै शैलीमा थिइन् । मैदानतिर एक नजर, हेलमेट मिलाउने सानो हाउभाउ, अनि उही परिचित आत्मविश्वासी चाल ।
पहिला केही प्रहारमै उनले आफ्नो लक्ष्यप्रतिको दृढता देखाइसकेकी थिइन् । ‘डाउन द ट्रयाक’ गएर ’ड्राइभ’, ’फ्लिक’ र ’कट’ गर्दै उनले बललाई बाउन्ड्री कटाइरहिन् ।
फाइनलमा उनले दक्षिण अफ्रिकाविरुद्ध ७८ बलको सामना गरेर १११ भन्दा बढीको स्ट्राइक रेटमा ८७ रन बनाउँदा नौ बाउन्ड्री प्रहार गरिन् । त्यसमा समावेश थियो सात चौका र दुई छक्का ।
पावरप्लेपछि शेफालीले एकपटक गलत ‘सट’ प्रहार गरिन् । स्मृति मन्धानाले उनलाई धैर्य गर्न संकेत दिइन् । केही बेर लाग्दै थियो, उनी अब जोखिम मोलेर सट हान्नबाट हच्किनेछिन् ।
त्यसपछि २० बलसम्म उनले कुनै बाउन्ड्री प्रहार गरिनन् । तर, शेफाली आफ्नो आक्रामक शैलीलाई धेरै बेर कहाँ नियन्त्रणमा राख्न सक्थिन् र !
जब दक्षिण अफ्रिकाकी नाडिन डी क्लर्क बलिङमा फर्किइन्, शेफाली अगाडि बढिन् र बललाई सिधै छक्का प्रहार गरिन् ।
आइतबार मुम्बई स्टेडियमको भीडले उनका निम्ति अरूभन्दा दोब्बर चर्को स्वरमा हुटिङ गर्यो । भारतीय समर्थक शेफालीको आक्रामक ब्याटिङको मजा लिइरहेका थिए ।

शेफालीको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध २९८ रनको योगफल बनायो । अनि, दक्षिण अफ्रिकालाई २९९ रनको विजय लक्ष्य दियो ।
फाइनलमा शेफालीको प्रदर्शन यतिमै सकिनेवाला थिएन । बलिङमा पनि उनले सनसनी मच्चाउन बाँकी नै थियो ।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले २० ओभरमा दुई विकेट गुमाउँदै ११३ रन बनाइसकेको थियो । लाउरा वोल्भार्डत उत्कृष्ट खेल्दै थिइन् र स्युन लुस पनि लयमा आउँदै थिइन् ।
अनि, २१ ओभरमा भारतकी कप्तान हरमनप्रीतले बल शेफालीलाई दिइन् । भारतका स्पिनरले खासै सफलता पाएका थिएनन् । यो योजनाबद्ध थियो भन्ने पछि हरमनप्रीतले खुलाइन् ।
शेफालीले घरेलु क्रिकेटमा नियमित बलिङ गर्दै आएकी छन् । उनले २०२४–२५ शीर्ष महिला एकदिवसीय ट्रफीमा सात खेलमा आठ विकेट लिएकी थिइन् । घरेलु टी–२० ट्रफीमा पनि ६ खेलमा आठ विकेट । दुवै प्रतियोगितामा उनी शीर्ष रन–गेटर पनि थिइन् ।
उनको पहिलो बल ९५ किमि प्रतिघण्टाको तीव्र थ्रो थियो, अर्को ८१ किमिको अफब्रेक ।
लुसले फाइन लेगतिर खेल्ने प्रयास गरिन्, तर बल सिधै फर्केर उनको हातमा आयो । शेफाली मुस्कुराइरहेकी थिइन्, बल हातमा पर्नुअघि नै । अनि, रंगशालामा ‘शे–फा–ली, शे–फा–ली’को हुटिङ भयो ।
अर्को ओभरमा उनले मारियाने क्यापलाई बल स्पिन गराएर विकेटकिपरको हातमा पुर्याइन् । त्यो निर्णायक क्षण बन्यो, भीड चिच्यायो । टोलीले ऊर्जा पायो । र, फेरि शेफाली नै केन्द्रमा थिइन् ।

हरमनप्रीतले भनिन्, “जब शेफाली टोलीमा फर्किइन्, हामीले प्रतिकाबाट आउने ओभरहरू गुमाएका थियौँ । त्यसैले हामीले उनलाई सोध्यौँ र उनले पनि आफू बलिङ गर्न तयार रहेको बताइन् । त्यसले उनको आत्मविश्वास देखाउँछ ।”
महत्त्वपूर्ण समयमा शेफालीले टोलीलाई सफलता दिलाएको हरमनप्रीत बताउँछिन् । उनले भनिन्, “जब म बीचको पार्टनरसिप देख्दै थिएँ, अचानक लाग्यो– शेफालीलाई बल दिऊँ । जोखिम थियो, तर उनी आत्मविश्वासी थिइन् । यो प्रयास किन गरिनँ भनेर पछि पछुताउन मैले चाहिनँ । र, उनले (शेफाली) लगातार दुई विकेट लिएपछि खेल हाम्रो पक्षमा फर्कियो ।”
आइतबारको रात त्यो थियो, जसलाई शेफालीले आफ्नो नाममा गरिन् । जसलाई विश्वकपको स्क्वाडमै राखिएको थिएन उही खेलाडीले फाइनलमा जित दिलाउँदै उपाधि भारतको नाममा गरिदिएकी थिइन् ।

अब हेर्न बाँकी, जब रावल फर्किन्छिन्, शेफाली भारतको एकदिवसीय टिममा कहाँ फिट हुन्छिन् ? ओपनरका रूपमा ? लचिलो भूमिकामा ? वा बलिङमा योगदान दिने खेलाडीका रूपमा ?
जे भए पनि एउटा कुरा निश्चित छ । शेफालीले आफ्नो छाप छाडिसकेकी छन् । र, भारतले उनलाई टोलीको सन्तुलन नबिगारी समावेश गर्नुपर्नेछ ।
खेलपछि विजय यात्राका क्रममा शेफाली कप्तानपछाडि मुस्कुराउँदै, भीडलाई हात हल्लाउँदै हिँडिरहेकी थिइन् । जब शेफालीको पालो आयो, उनले ट्रफी यसरी उठाइन्, मानौँ त्यसले उनकै प्रतीक्षा गरेको थियो ।