काठमाडौं । पछिल्लो समय युवामा मुटु रोग बढ्न थालेको विज्ञहरुले बताएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले हृदयघात हुने युवाको संख्या पनि बढेको र मृत्यु हुनेको संख्या पनि बढेको बताए ।
उनले भने, “जाडोको समय हृदयघात, मुटु रोगको सम्भावना यसै बढ्छ । यो किन हो भने जाडोको समयमा चिसोको प्रभावले रक्तनली खुम्चिने र ब्लडप्रेसर बढ्ने भएकाले मुटुलाई दबाब बढ्छ । अनि मुटुलाई काम गर्न गाह्रो हुन्छ । यदि पहिलेदेखि नै मुटुमा कुनै किसिमको रोग रहेछ भने अफ्ठेरो हुने बित्तिकै रगत पम्प गर्न गाह्रो हुने भयो ।”
चिसोको प्रभावले रगत जम्ने प्रक्रिया वृद्धि हुन्छ र रगतमा ‘क्लट फर्मेसन’ बनेर रक्तनली ब्लक गर्ने र हार्टअट्याक हुने पनि उनले बताए ।
जाडोमा नराम्रो कोलेस्ट्रोल पनि बढ्ने भएकाले मुटुलाई धक्का लाग्ने हुनाले हार्टअट्याक बढ्ने गरेको उनको भनाइ छ । उनले भने, “जाडोको समयमा हिँडडुल पनि कम हुन्छ । युवा पिँढीमा जीवनशैली बिग्रिएका कारण पनि हार्टअट्याक बढेको पाइएको डा. रेग्मीले बताए ।
राति सुतेर बिहान नउठेका धेरै घटना हुने गरेको उनले बताए ।
उनले भने, “युवामा एक त खानपान बिग्रिँदै गएको पाइएको छ । जंकफुड धेरै खान्छन्, चिल्लो गुलियो धेरै खान्छन् । चुरोट सुर्तीको सेवन बढी छ, व्यायाम छैन । राति अबेरसम्म निदाउँदैनन् । धेरै मोटोपन बढेको छ । मानसिक तनाव पनि बढेकाले असर पनि बढेको छ ।”
खानपानमा ध्यान नपुर्याउँदा र जीवनशैलीमा लापरवाहीका कारण यसको जोखिम बढेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मीले बताए ।
“स्वास्थ्य परीक्षण गर्ने बानी छैन । सुगर, ब्लडप्रेसर कोलेस्ट्रोल देखिए पनि मुख बारेर, व्यायाम गरेर ठिक पार्नतिर लाग्नुहुन्छ । औषधि भरसक खान खोज्नुहुन्न । त्यो सोचाइ छ । यदि औषधि खान सुरु गरिहाले पनि त्यसलाई निरन्तरता नदिने, डाक्टरको फलोअपमा नजाने बानीले पनि हार्टअट्याक हुने गरेको पाइन्छ,” उनले भने ।
हृदयघात मुटुसँग सम्बन्धित स्वास्थ्य समस्या हो । हृदयमा अक्सिजनयुक्त रगत पुग्न रोकिएपछि हृदयको मांसपेशीको एक भाग मर्न थाल्ने अवस्थालाई जनाउँछ । यो अत्यन्त गम्भीर र प्राणघातक अवस्था हो, जसमा तत्काल उपचार नपाए ज्यान नै गुम्न सक्छ ।
९९ प्रतिशत मुटु रोगको निदान नेपालमै सम्भव रहेको पनि उनले बताए ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मीले बाह्रखरीसित भने, “९९ प्रतिशत मुटु सम्बन्धी रोगको उपचार नेपालमै हुन्छ । बाहिर जानु पनि पर्दैन । अहिले उपचार गरेको खण्डमा जस्तोसुकै मुटुसम्बन्धी रोग निको पार्न र कन्ट्रोलमा राख्न सकिन्छ ।”
उनले थपे, “पहिला–पहिला मानिसहरु मुटुको रोग लागेपछि मृत्यु भइहाल्ने र बाँचे पनि आयु ५०–६० वर्षभन्दा माथि नजाने हुने गरेकामा अहिले प्रभावकारी उपचार रहेकाले ८०–९० वर्षसम्म बाँच्न सक्छन् ।”
अहिले मुटु रोग उपचार गर्नसक्ने भन्दै डा. रेग्मीले लक्षण देखिए तुरुन्तै नजिकको अस्पताल जान सुझाए । उनले भने, “छातीको मध्य भागमा बेस्सरी पीडा हुनु, श्वास फेर्न एकदमै गाह्रो भयो, खल्खल्ती पसिना आए, वाकवाकी आउने र मृत्युको त्रास भए यो लक्षण चाहिँ निक्कै खतरा हुन्छ ।”
हेलचेक्र्यााईं गरेर यस्तो अवस्थामा घरमा बस्न नहुने पनि उनले बताए । यस्तै एकाएक श्वास फेर्न गाह्रो हुनु, चक्कर लाग्नु पनि हार्टअट्याकको लक्षण रहेको उनले बताए ।