काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरको निर्णायक गोलप्रेरित लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट रियाल मड्रिडविरुद्ध १–० को साँघुरो जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन म्याक एलिस्टरले दोस्रो हाफमा गरेको गोल पर्याप्त बन्यो ।
एलिस्टरले ६१औँ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो ।
जितसँगै चार खेलबाट नौ अंक जोडेको लिभरपुल तालिकाको छैटौँ स्थानमा छ । समान खेलबाट नौ अंक नै जोडेको रियाल तालिकाको पाँचौँ स्थानमा छ ।
मंगलबारै भएको अर्को खेलमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध बायर्न म्युनिखले २–१ को रोमाञ्चक जित निकाल्यो ।
पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन दुवै गोल लुईस डियाजले गरे । पीएसजीका जाओ नाभासले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलको चौथो र ३२औँ मिनेटमा डियाजले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा डियाजले नै रातो कार्ड पाउँदै बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।
७४औँ मिनेटमा नाभासको गोलमा पीएसजीले खेलमा फर्किने प्रयास गरे पनि त्यसमा सफल बन्न सकेन ।
प्रतियोगितामा अपराजित बायर्नले चार खेलबाट १२ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको पीएसजीले नौ अंक जोडेको छ ।