site stats
बाह्रखरी :: Baahrakhari
खेल
ब्याट र बल थन्क्याएर क्रिकेटको व्यवस्थापनमा रमाइरहेका पारस

काठमाडौं । पारस खड्का नेपाली क्रिकेटलाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाउने मुख्य सारथीमध्ये एक हुन् । अन्तर्राष्ट्रिय क्रिकेटको सफल खेल जीवनबाट व्यवस्थापकीय जिम्मेवारीमा आएका पारस अहिले नेपाल क्रिकेट संघ (क्यान) को सचिव छन् ।

टुँडिखेलको आगनबाट प्रारम्भ भएको नेपाली क्रिकेट विश्वकपको मञ्चमा पुगिसकेको छ । र, पारस त्यसका एक प्रमुख पात्रका रूपमा रहेका छन् ।

लगभग दुइ दशकको खेल जीवनमा अझ खासगरी क्रिकेटमा पारस सधैँ चर्चामा र केन्द्रमा रहे । नेपाली पुरुष क्रिकेट टिमको कप्तानको सफल जिम्मेवारी सम्हालेका उनको छवि खेलाडीको हक-हितका लागि लड्ने र देशका लागि मरिमेट्ने छ । खेलाडीको हितमा पदाधिकारीसँगको संघर्ष होस् या मैदानमा देशको प्रतिनधित्व गर्दै उत्रँदाको अवस्थामा होस्- उनी सधैँ केन्द्रमा रहे ।

क्यानले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सानदार रूपमा सम्पन्न गर्दा त्यस्को मुख्य व्यवस्थापकीय जिम्मेवारी पारसले नै सम्हालेका थिए । अहिले उनी दोस्रो संस्करणको एनपीएको व्यवस्थापकीय जिम्मेवारीमा व्यस्त छन् । मैदानको तयारी, व्यवस्थापन र र लिगका चुनौतीले उनको व्यस्तता बढाएको छ ।

पारस क्यानको सचिव भएको पनि दुइ वर्ष भयो । ब्याट र बल लिएर मैदानमा उत्रने उनको हातमा अहिले ब्याट र बल छैन । तर, क्रिकेटको व्यवस्थापकीय जिम्मेवारी भने छ । उनी अहिले आफूलाई त्यसैमा खरो उतार्दै छन् । क्यानको सचिवको कार्यकालको मध्यतिर आइपुग्दा पारस नेपाली क्रिकेटलाई अघि बढाउन थप हौसिएका छन् ।

खेलाडी र पदाधिकारीबीचको भिन्नताका बारेमा प्रश्न गर्दा पारस भन्छन- खेलाडी हुनु धेरै सजिलो तर पदाधिकारी हुनु निकै अप्ठेरो । खेलाडीले खेल्ने हो- मुलुकको लागि राम्रो खेल्यो भने वाहावाही पाइन्छ, नराम्रो खेल्यो भने दर्शकको गाली । तर, पदाधिकारी भएपछि साना-साना कुरामा अल्झिनुपर्ने, सोचेअनुरूप काम गर्न नसकिने, सबैलाई रिझाउनुपर्ने ।

सात प्रदेश, ४५ जिल्ला र संघलाई एकै ठाउँमा राखेर अगाडि बढ्नु चुनौतीपूर्ण काम हो । तर क्रिकेटको विकास र मुलुकको प्रतिष्ठाको सवालमा सबैलाई एउटै लक्ष्यमा केन्द्रित गराउन पारस सफल छन् । "आन्तरिक स्वार्थ र फरक विचारका बाबजुद धेरै कुरालाई व्यवस्थित गर्ने प्रयास गरेको छु," पारस भन्छन् ।

सन २०१४ मा विश्वकप खेलेको नेपालको लक्ष्य पक्कै पनि टेस्ट मान्यता पाउने होला नि भन्ने प्रश्नमा पारस भन्छन- "आईसीसीको पूर्ण सदस्य बन्नका लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण पक्ष हो । हामीसँग एउटा वा दुईवटा राम्रा रंगशाला भएको खण्डमा हामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न सक्छौँ र आर्थिक पाटोमा सबल बन्न सक्छौँ । यसले हाम्रो क्रिकेटको स्तर मात्र होइन उन्नति र प्रगतिको बाटो पनि खुल्नेछ र हाम्रो टेस्ट खेल्ने सपना पनि पूरा हुनेछ ।"

पारस चर्चा र आरोपलाई सहज रूपमा लिन्छन् । भन्छन्- "खेलाडी हुँदै गर्दा हामी गाली र तालीबाट अभ्यस्त भइसकेका छौँ । त्यसैले पनि राम्रो र व्यवस्थित गर्ने प्रयासमा कसैले आरोप लगाउछन् भने त्यसलाई गम्भीर रूपमा लिनुपर्ने देख्दिनँ । सकरात्मक रूपमा असल नियतले आएका सबै सुझावहरू स्वीकार्य छन् । तर, जथाभावी बिनाआधार र प्रमाण मनलाग्दी लगाइने मिथ्या आरोपको कुनै तुक छैन र हुँदैन पनि ।"

त्यसो त पारसको व्यक्तित्वको बढी चर्चा भएको र उनी व्यक्तिकेन्द्रित भएको भन्ने आरोप पनि बेलाबेलामा लाग्ने गरेको छ । यो प्रश्नमा उनी भन्छन्- "म एउटा व्यक्ति हो । जे जति काम भएका छन् नेपाल क्रिकेट संघले गरेको हो ।

हो म त्यसको जिम्मेवार पदाधिकारी हुँ । तर, काम गर्दै गर्दा हामी सबैको जिम्मेवारी बराबरी हो । सबैले आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने नेपाली क्रिकेटले सोचे अनुरूप विकास हुन्छ । सबै काम संस्थागत हुनुपर्छ, पारदर्शी हुनुपर्छ र विकासमा केन्द्रित हुनु पर्दछ । मेरो मान्यता यति मात्र हो ।"

संरचना बलियो बनेर व्यावसायिकता बढेपछि खेलाडी पलायन पनि रोकिने उनको भनाइ छ । "जब संरचना बलियो हुन्छ, खेल व्यावसायिक बन्छ तब खेलले गति लिन्छ । अहिले ८९ क्रिकेट खेलाडी संघसँग अनुबन्धित छन् । अरु खेलका खेलाडीजस्तो क्रिकेटरहरू विदेशिने क्रम पनि धेरै रोकिएको छ । जब खेलमा सम्भावना रहन्छ तब खेलाडी रहिरहन्छन् ।"

खेलकुद राज्यको प्राथमिकतामा नपरेको उनको गुनासो छ । मुलुक चिनाउने माध्यम खेलकुद बनाउन सकिए सबै खेलहरूले प्रगति गर्ने विश्लेषण सुनाउँछन् पारस ।

जेनजी आन्दोलनपछि उनलाई खेलकुदमन्त्री बनाउने चर्चा पनि सामाजिक सञ्जालहरूमा थियो । प्रस्ताव आएको थियो ? भन्ने प्रश्नमा उनी भन्छन्- "सामाजिक सञ्जालमा मेरो माया र विश्वास पोखिएको हो । मेरो एउटा उद्देश्य भनेको क्रिकेटको विकास र बिस्तार हो । मलाई प्रस्ताव आए पनि मेरो पहिलो प्राथमिकता नेपाल क्रिकेट संघ नै हो । अहिले म जुन पदमा छु त्यो नै ठीक छ । क्रिकेट संघलाई सबल, सफल र व्यवस्थित बनाउन सकिए मेरा लागि सबैभन्दा ठूलो कुरो हुनेछ ।"

आफ्नो क्रिकेट करियरको विगत र वर्तमानबारे पनि उनले आफ्नो अनुभव सुनाए । "कति टाढा पुगेछौँ भनेर पछाडि फर्केर हेर्दा ठूलो सन्तोष लाग्छ । व्यक्तिगत रूपमा भन्दा, मैले काठमाडौंमा विद्यालयस्तरबाटै खेल्न सुरु गरेको हुँ । वर्षाको समयमा फुटबल, बास्केटबल र बाँकी समयमा क्रिकेट खेलेँ । मैले कहिल्यै पनि देशका लागि खेल्छु भनेर कल्पना गरेको थिइनँ । तर भाग्यले मेरा लागि अर्कै कुरा लेखेको रहेछ । जब म यू–१५ का लागि छनोट भएँ, त्यसपछि क्रिकेटमा लागियो ।"

पारससँग आफ्नो क्रिकेट करियरका थुप्रै संझनायोग्य पल छन् । "आईसीसी यू–१९ विश्वकपमा दक्षिण अफ्रिकालाई दुईपटक, न्यूजिल्याण्ड र जिम्बाब्वेलाई एक/एक पटक हरायौँ । त्यस क्रममा विश्वका उत्कृष्ट खेलाडीको विपक्षमा रहेर पनि खेल्यौँ । सन् २०१३ को नोभेम्बर २७ मा हङकङलाई अन्तिम बलमा हराएर सन् २०१४ को टी–२० विश्वकपमा छनोट भएको क्षण जीवनकै सबभन्दा सुखद क्षण थियो ।"
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्