site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल’

काठमाडौं । ‘लाज पनि लजाइसक्यो ।’ 

कुनै समय नेपाली खेलकुदमै रवाफिलो प्रभाव जमाएको पुरुष फुटबल अहिले ठ्याक्कै यही स्थितिमा छ । हो, लाज कुनै सजीव वस्तु हुन्थ्यो र उसले नेपाली फुटबलको स्थितिलाई देख्थ्यो भने भन्थ्यो होला, ‘मलाई नै ढाकिदेऊ बरु ।’

फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको तीन वर्ष पुगिसक्यो । तर, ‘चेन्ज एन्फा’को नारासहित तीन वर्षअघि नेतृत्वमा आएको वर्तमान कार्यसमिति आन्तरिक खिचातानीमै व्यस्त हुँदा शीर्ष डिभिजन लिग नभएको पनि करिब तीन वर्ष नै पुगिसक्यो ।

नेतृत्वले दिएको आश्वासनबाट नेपाली समर्थक त दिक्क थिए नै । सोमबार (कात्तिक १७) एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र ‘होम एन्ड अवे’को आधारमा ‘ए’ डिभिजन गर्ने सहमति गरे । जसमा यस वर्ष ‘ए’ डिभिजन लिग नहुने भएपछि तीन वर्षअघि भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली र बुधबारदेखि हेटौँडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भयो ।

एन्फा र क्लबहरूले ‘ए’ डिभिजन लिग नगर्ने सहमति गरेपछि खेलाडीले सहेर बस्न सकेनन् । नेतृत्वको कार्यशैलीबाट आजित बनेका यिनै राष्ट्रिय खेलाडी बिहीबार (कात्तिक २०) प्रदर्शनमा नै उत्रिए । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको गेटमा राष्ट्रिय खेलाडीसँगै प्रशिक्षक र खेलकुदप्रेमीले फुटबल जोगाउन भन्दै धर्ना कार्यक्रम राखेका थिए । धर्नामा सहभागी भएका अधिकांश खेलाडीको एउटै तर्क थियो, “हामीले खेल्ने बुट निष्क्रिय भयो होला, तर हाम्रो मुटु भएको छैन ।” राष्ट्रको प्रतिनिधित्व गरेका खेलाडीले ‘कम्तीमा हामीलाई खेल्ने वातावरण त बनाइदेउ’ भनेर बिलौना गर्नेसम्मको दिन अहिले नेपाली फुटबलले भोग्दैछ । 

“नेपाली फुटबलमा यस्तो दिन आउनु विडम्बनाको कुरा हो । खेलाडीले खेल्न पाउनुपर्छ भन्नु पर्ने दिन आउनुमा प्रमुख दोषी नेतृत्वमा रहेका व्यक्तिहरू नै हुन्,” बिहीबारको धर्ना कार्यक्रममा सहभागी भएका नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनले निराशा पोखे ।

‘एन्फा मुख्यालयमा खेलाडीलाई प्रवेश निषेध’
अखिल नेपाल फुटबल खेलाडी संघले बिहीबार शान्तिपूर्ण धर्ना कार्यक्रम राखेको थियो । जसमा अध्यक्ष विक्रम लामासँगै विशाल श्रेष्ठ, विकेश कुथु, विराज महर्जन, अञ्जन विष्ट, एरिक विष्ट, सनिश श्रेष्ठ, रोहित चन्दसँगै अरु राष्ट्रिय टोलीका नियमित सदस्यको समेत उपस्थिति थियो ।

प्रदर्शनका लागि एन्फा प्रांगण पुग्ने योजनामा रहेका उनीहरूलाई मुख्यालयको गेटमै रोकियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अनुपस्थित हुँदा मुख्यालयमा प्रवक्ता सुरेश शाहमात्रै देखिए ।

खेलाडीले गेटबाहिरबाट निरन्तर भित्र जाने अनुमति माग्दै प्रवक्ता शाहमाथि निरन्तर प्रश्न तेर्साए । प्रश्न थियो, “खेलाडी भनेको एन्फाको सम्पति हो भनेर तपाईंहरू नै भन्नुुहुन्छ अनि आफ्नै सम्पत्तिलाई आँगनसम्म आउनु दिनु हुन्न ?”

“निकासा निस्किने भनेको टेबलबाटै हो,” प्रवक्ता शाहले यहीबाहेक अरु जवाफ दिन सकेनन् ।

पछिल्लो पटक पुरुष फुटबलले २०७९–८० मा शीर्ष डिभिजन लिग पाएको थियो । त्यसयता फुटबल गतिविधि शून्यप्रायः हुँदा राष्ट्रिय टिमकै प्रतिनिधित्व गरिसकेका खेलाडी पनि भारतमा हुने ‘टोले प्रतियोगिता’ खेल्न बाध्य छन् ।

यही परिस्थितिबाट दिक्दार भएका पाँच दर्जनभन्दा धेरै खेलाडीहरू ‘फुटबलमा भविष्य छैन’ भन्ने भाष्यसहित पलायन भइसके । 

एन्फा खेलाडी विदेश पठाउने ‘कन्सलटेन्सी’ बन्दा राष्ट्रिय फुटबल टिम वा ‘ए’ डिभिजन लिग खेलाडीका लागि विदेश जाने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) बनेको छ । राष्ट्रिय टिम वा कुनै क्लबबाट लिग खेल्यो कि अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतको भिसा हातमा । त्यहाँ पुग्नेहरूले कम्तीमा राम्रो गन्तव्य पाए । खाडी मुलुक पुग्नुपर्ने परिबन्दमा परेका फुटबलरको हृदयविदारक कहानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिनजसो भेटिन्छ । खेलाडी पलायन रोक्न चुकिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आगामी दिनको योजना समेत छैन । कति खेलाडी विदेशिए भन्नेबारे तथ्यांक पनि राख्दैन ।

धर्नामा पुगेका खेलाडीहरूले विभिन्न प्रतियोगितामा जितेको मेडलसमेत एन्फालाई उपहार दिए । खेलाडीले एन्फाभित्र प्रवेश नपाएपछि गेटमा नै आफूसँग भएको मेडल झुन्ड्याइदिएका थिए । 

वर्ष एक, क्यालेन्डर दुई 
वर्ष २०८२ मा एन्फाले ‘ए’ डिभिजन लिगका निम्ति गरेको ‘फन्डा’ पनि अच्चमैको छ । वर्षको सुरुआत वैशाखमै काभ्रेको धुलिखेलमा सम्पन्न वार्षिक साधारणसभाबाट पारित क्यालेन्डरमा लिग पुस १ देखि जेठ ३१ गतेसम्म हुने जनाइएको थियो । तर, असोज ७ गते एन्फाले फेरि अर्को क्यालेन्डर सार्वजनिक गर्‍यो । जसमा पुरुषको शीर्ष डिभिजन लिगका निम्ति २०८२ पुस ९ देखि २०८३ असार २६ सम्मको मिति तोकिएको थियो ।

यसबाहेक, एन्फाले लिगलाई ‘होम एन्ड अवे’को शैलीमा आयोजना गर्ने हुँइयासमेत चलायो । तर, क्लबहरूले यसका निम्ति संरचना नरहेको जनाए । एन्फाको यो रवैयाले नेपाली फुटबलर र समर्थकलाई ठ्याक्कै यही ‘पम्पलेट’मा लेखिएजस्तै अनुभव गराएको छ, ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल ।’

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्