site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’मा निखिल

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाली चलचित्रका ‘एक्सन हिरो’ निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका निम्ति आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ ।

चन्द्रागिरिबाट पाराग्लाइडिङ ‘स्टन्ट’ गराउँदै जनकपुरले निखिललाई गुडविल एम्बासडर बनाएको घोषणा गरेको हो । उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री’लाई नयाँ उचाइमा पुर्‍याएको जनकपुरले जनाएको छ ।

निखिल उप्रेतीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेसको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो । विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।”

ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले एनपीएलका निम्ति तयारी तीव्र बनाएको छ । वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा उत्रने जनकपुरले विदेशी खेलाडीमा वायने पार्नेल, अमेरिकी क्रिकेटर लाहिरु मिलान्थालाइ टोलीमा समावेश गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्