काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ मा भएको लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ । क्षतिको अनुमानित विवरणसहित अदालतहरूले अपराधीमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा जाहेरी दिएका छन् ।
अदालतका चारपांग्रे एसी गाडी १२९ वटा जल्दा एक अर्ब २३ करोडबराबरको क्षति भएको छ । एक हजार ४९२ कम्प्युटर, ६३५ ल्यापटप, ८५४ थान प्रिन्टर तथा भिडियो कन्फरेन्स सेट ८६ वटा जलेको छ । यससँगै उच्च अदालतसम्म भिडियो कन्फरेन्समार्फत बहस गर्न पाउने सुविधा सञ्चालनका लागि कुर्नुपर्ने अवस्था बनेको छ ।
सर्वोच्चसहित १० अदालतमा पूर्ण क्षति, नौवटामा आंशिक क्षति र चार अदालत भनवमा समान्य क्षति भएको छ । सर्वोच्चका चालु मुद्दाका २० हजार मिसिल जले । एक लाख ९७ हजार अभिलेख जलेर नष्ट भएका छन् ।
“झन्डै डेढसय वर्ष पुराना अभिलेख नष्ट भएका छन् । अब अदालत नियमिततामा फर्कन नै कति समय लाग्ने हो अहिले नै भन्न सकिने अवस्था छैन,” सर्वोच्चका मुख्य रजिष्ट्रार विमलप्रसाद पौडेलले भने, “हामी मंसिरदेखि सबै सेवा सञ्चालनको तयारी गर्दैछौँ ।”
सर्वोच्चले खरिद गरेर खोल्दै नखोलिएका १३२ ल्यापटप जलेका छन् । अहिले आएको विवरण भवनहरूको ह्रासकट्टीसहितको मूल्यांकन हो । नयाँ निर्माणका लागि लाग्ने खर्च भने अहिले अनुमान गरिएको क्षतिभन्दा धेरै ठूलो लगानी आवश्यक पर्नेछ ।