site stats
बाह्रखरी :: Baahrakhari
देश
जाँचबुझ आयोग र प्रहरीबीचको टकराब के हो ?

काठमाडौं । गएको भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा घटेको हिंसात्मक घटनाबारे जाँचबुझ गर्न बनेको आयोग र नेपाल प्रहरीबीचको टकराब सतहमा आएको छ ।  जाँचबुझ आयोगले २३ गतेको प्रदर्शनका क्रममा भएको सुरक्षाकर्मीको बल प्रयोगलाई प्रदर्शनकारीमाथि भएको दमनका रुपमा हेर्दा प्रहरी र आयोगबीच टकराब बढेको हो । 

आयोगले यही सातादेखि प्रदर्शनका क्रममा भएको घटनाबारे जानकारी लिन बयान थालेको छ । आयोगले आइतबार नै प्रहरी प्रधान कार्यालयलाई २३ गतेको प्रदर्शनका क्रममा फिल्डमा खटिएका प्रहरी कमाण्डरहरुको सूची पठाउन पत्राचार गरेको थियो । 

तर, प्रहरी प्रधान कार्यालयले फिल्डमा प्रहरी जवानदेखि प्रहरी महानिरीक्षक (आईजीपी) समेत फिल्डमै रहेको जवाफ सहितको पत्र पठायो ।

आईजीपीलाई नै सम्बोधन गरेर पठाएको पत्रको जवाफ सन्तोषजनक नपाएपछि आयोगले पुनः बुधबार चेतावनीसहितको अर्को पत्र आईजीपीलाई पठाएको छ । 

यद्धपी आयोगको पत्रपछि प्रहरीप्रधान कार्यालयले आइतबार नै प्रदर्शनका क्रममा खटिएका कमाण्डरहरुलाई उपत्यका नछाड्न निर्देशनसहितको पत्राचार भने गरिसकेको छ ।

तर, आयोग आफूले भनेअनुसारको जवाफ र २३ गतेको प्रदर्शनका क्रममा संसद भवनभित्र खटिएका प्रहरीको टोलीको सूची नपाएपछि अर्को पत्र पठाउनु परेको आयोगका प्रवक्ता विज्ञानराज शर्माको भनाइ छ ।

शर्माले भने,‘‘ हामीले बुधबार प्रहरी प्रधान कार्यालयलाई २४ घण्टाभित्र मागे अनुसारको सूची दिन भनेका छौँ । उपत्यका प्रहरी कार्यालयबाट भने सूची पाइसकेका छौँ । तर, संसद् भवनभित्र खटिएको कार्यदलको टोली सिधै प्रधान कार्यालयबाट खटिने हुँदा प्रधान कार्यालयलाई पत्र पठाउनु परेको हो ।’’

बुधबारको पत्र भने मागे अनुसारको सूची नपठाउने कारणबारे स्पष्टिकरण सोधिएको शर्माको भनाइ छ । 

तर, प्रहरी प्रधान कार्यालय स्रोतले भने आयोगले जाँचबुझका नाममा प्रहरीको मनोबल गिराउने शैलीमा कमाण्डरहरुको सूची मागेपछि नपठाइएको दाबी गरे ।

ती उच्च अधिकारीले भने,‘‘प्रहरी महानिरीक्षक सहित उच्च प्रहरी अधिकारीको आन्तरिक छलफलपछि फिल्डमा खटिने कमाण्डरहरुको मनोबल निराउनेगरी सूची नदिने निर्णय नै भएको हो । त्यहीअनुसार कुनै पनि कमाण्डरको नाम नपठाइएको हो ।’’

२३ गतेको प्रदर्शन हिंसात्मक हुनुको कारण सुरक्षा विश्लेषण र अराजक समूहका कारण घटेको निष्कर्ष निकाल्दै प्रहरीले त्यसको जिम्मा फिल्डको कमाण्डरलाई मात्रै दिएर उम्किन नसकिनेसमेत जनाएको छ ।

एक उच्च प्रहरी अधिकारीले भने,‘‘२३ गतेको घटनाको सबै जिम्मा फिल्ड कमाण्डरले मात्रै लिनु नपरोस् भनेर नै जवानदेखि आईजीपीसम्म खटिएको जवाफ दिइएको हो । यो नै हाम्रो लागि आवश्यक थियो र, छ । आईजीको यो अडान पनि हो ।’’

गुम्न सक्छ फर्किदै गरेको प्रहरीको मनोबल

आईजीपी चन्द्रकुवेर खापुङ र जाँचबुझ आयोगबीचको पछिल्लो टकराबले प्रहरीको मनोबल गुम्ने जोखिम बढेको उच्च अधिकारी नै बताउँछन् । प्रदर्शनका क्रममा भएका सबै कमजोरी प्रहरीलाई मात्रै थुपारेर उम्कन खोज्दा प्रहरीको मनोबल गिर्ने प्रहरी अधिकारी नै बताउँछन् ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्र सिंह भण्डारीले प्रहरी आफ्नै ऐनले सञ्चालन हुने र सरकारले बनाएको आयोगबीच टकराब हुनु आवश्यक नभएको बताए ।

उनी भन्छन्,‘‘शान्ति सुरक्षा कायम गर्न र प्रहरीलाई राम्रो बनाउने काम आयोगको पनि हो र, सबै नागरिकको हो । प्रहरीको तर्फबाट भएका कुराहरु आयोगले सोध्दा निर्धक्कसाथ प्रधान कार्यालयले पनि दिनुपर्छ ।, अर्को कुरा आयोगले कारबाहीको नाममा अन्यथा गर्नुचाहिँ हुँदैन । त्यसले राम्रो गर्दैन ।’’

जनेजी प्रदर्शनका क्रममा २३ गते सुरक्षाकर्मीको गोली लागेर १९ जनाको जनेजी प्रदर्शनकारीको ज्यान गएको थियो । दोस्रो दिन २४ गते भने प्रदर्शनकारीले उपत्यकासहित देश भरका प्रहरी कार्यालय जलाउनुका साथै काठमाडौैंमा तीन जना प्रहरीकोसमेत हत्या गरिएको थियो ।

२४ गते कै प्रदर्शनका क्रममा संसद भवन, सिंहदरबारलगायत सयौँ सरकारी भवन, निजी घरहरु तथा व्यापारीक भवनहरुसमेत जलाइएको थियो । 

आईजीपी नियुक्तिमा चलखेल

केही प्रहरी अधिकारीले भने प्रहरीमाथिको अस्वाभाविक सक्रियतालाई भावी आईजीपी नियुक्तिलाई समेत प्रभावित गर्ने उद्देश्यले गरिएको दाबी गरेका छन् ।  एक हप्तापछि मात्रै हालका आईजीपी चन्द्रकुवेर खापुङले प्रहरीको ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदैछन् ।

खापुङपछि हुने प्रहरीको ३३औँ आईजीपीका लागि प्रतिस्पर्धीहरुले आयोगमार्फतसमेत चलखेल गर्न लागेको केही अधिकारीहरुको दाबी छ । आयोगले बिहीबारदेखि नै २४ गते भएको प्रदर्शनबारे प्रहरी अधिकारीसित बयानको काम थालेको छ ।

बुधबारमात्रै नख्खु कारागारबाट कैदीबन्दी भागेको र राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भूमिकाबारे जानकारी दिन आयोगले लामिछानेको बयान लिएको थियो । लामिछानेलाई कारागारबाट आयोगको कार्यालय सिंहदबार बोलाएर बयान लिइएको हो । २४ गते प्रहरीका फिल्ड कमाण्डरहरुलाई समेत बयानका लागि बिहीबार पत्राचार गरिएको छ । 

२३ गतेको घटनाबारेको बयानका काम नसकिँदै २४ गतेको घटनाबारे आयोगले काम गर्नुलाई केही प्रहरी अधिकारीले आश्चर्य मानेका छन् ।

एक अधिकारी भन्छन्,‘‘जाँचबुझ आयोगले सुरुवात त २३ गतेको घटनादेखि नै गर्नुपर्ने होला तर, आयोग सिधै २४ गते खटिने प्रहरी अधिकारीको बयान लिन थाल्यो । यो अलि अनौठो छ ।’’

आईजीपीका लागि प्रमुख चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरू दाबेदार छन् । एआईजी दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रमुख दाबेदार हुन् ।

कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरी, अधिकारी मानव स्रोत साधन विभाग, केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । यस्तै शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्ज प्रमुख छन् ।

कार्की, अधिकारी र केसी २०५४ चैतमा प्रहरी निरीक्षकका एकसाथ भर्ना भएका थिए ।  शाह भने २०५३ साल पुसमा राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत (इन्सपेक्टर) भएर पछि स्थानान्तरण भएका थिए ।
डीआईजीदेखि एआईजीको बढुवाको एक नम्बरमा दानबहादुर कार्की छन् । 

कार्की २४ गतेमात्रै प्रहरी महानिरीक्षकको सिधा निर्देशनमा उपत्यका प्रमुख भएर कमाण्ड सम्हाल्न आएका थिए । 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्