site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाविरुद्ध उत्रिएको फुटबल खेलाडी संघलाई एनएनआईपीएको समर्थन

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउँनुपर्ने मागसहित प्रदर्शन गरेको नेपाल फुटबल खेलाडी संघप्रति समर्थन जनाएको छ ।

शुक्रबार संघले आफ्नो ऐक्यबद्धता जनाउँदै नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको दबाब कार्यक्रमलाई समर्थन जनाएको हो ।

“खेल्न पाउनुपर्छ भन्दै नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार (कात्तिक २०) एन्फाविरुद्ध भएको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको ऐक्यबद्धता रहेको छ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले एन्फालाई यथाशीघ्र फुटबल सञ्चालनको निम्ति वातावरण निर्माण गर्न समेत आग्रह गरेको छ ।

संघले लिग सञ्चालन नगरी एन्फा आफ्नो दायित्वबाट पन्छिँदा खेलाडीलगायत फुटबलमा जोडिएकाहरू बेरोजगार भएको औँल्याएको छ ।

बिहीबार फुटबल खेलाडी संघको आह्वानमा एन्फा प्राङ्गणमा खेलाडीहरू धर्ना बसेका थिए ।

उनीहरूले शीर्ष डिभिजन लिग नगर्ने निर्णयविरुद्ध चर्को असन्तुष्टि पोख्दै गेटमा मेडलसमेत झुन्ड्याएका थिए । गत सोमबार एन्फा साचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्ष होम एन्ड अवेको आधारमा ए डिभिजन लिग गर्ने सहमति गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्