काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप जित्दाको अनुभवलाई आफ्नो सन्तान जन्मिँदाको खुसीसँग तुलना गरेका छन् । बिहीबार संयुक्त राज्य अमेरिकामा ‘अमेरिका बिजनेस फोरम’ शीर्षकमा एक कार्यक्रम अतिथिको रूपमा उपस्थित भएका मेसीले यस्तो बताएका हुन् ।
उनले सन् २०२२ को डिसेम्बर १८ मा अर्जेन्टिनालाई विश्वकप जिताउँदै इतिहास रचेका थिए । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो । यो अर्जेन्टिनी समर्थकहरूको निम्ति खुसीको क्षण बन्यो ।
आफ्नो ट्रफी क्याबिनेटमा यही उपाधि अभाव रहँदा मेसीको निम्ति भने विशेष बन्यो । “विश्वकप जित्दा मैलै मेरो सन्तान जन्मिँदाको क्षणजस्तै महसुस गरेँ । यो भावना बताउन गाह्रो छ । यो उपलब्धि मेरो लागि विशेष छ । यसको बारेमा जति वर्णन गरे पनि कम हुन्छ,” मेसीले भने । मेसीका तीन सन्तान थियागे, माटेओ र सिरो छन् ।
आगामी विश्वकप (फिफा–२०२६) आउन एक वर्षभन्दा कम समय बाँकी भए पनि मेसीले हालसम्म आफ्नो उपस्थितिबारे स्पष्ट जवाफ दिइसकेका छैनन् । तर, उनले अबको विश्वकपमा फुटबल समर्थकहरूले फरक अनुभव पाउने बताए । “म विश्वकपमा केही फरक रूपमा हुने आशामा छु,” मेसीले भने ।
अर्जेन्टिनाले विश्वकपको पछिल्लो संस्करण जित्दा मेसी प्रमुख खेलाडी बनेका थिए । विश्वकपको आगामी संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुनेछ । विश्वकपको यो संस्करण अघिल्लो संस्करणहरूभन्दा फरक छ । प्रतियोगितामा ४८ देशले प्रतिस्पर्धा गर्दै छन् । यसअघिका संस्करणमा ३२ देशको सहभागिता थियो ।