उमा सुवेदी समकालीन नेपाली साहित्यमा स्थापित नाम हो । पछिल्लो समय आख्यान विधामा सक्रिय उनको तेस्रो औपन्यासिक कृति ‘परिधि’ चर्चामा छ । यसअघि नै ‘तोदा’ र ‘इति’ उपन्यासका माध्यमबाट उपन्यास विधामा आफ्नो पहिचान बनाइसकेकी सुवेदीको ‘परिधि’ उपन्यास अगाडिका उपन्यासभन्दा पृथक् देखिन्छ ।
यथार्थवादी साहित्यको व्याप्ति रहेको आजको नेपाली साहित्यिक बजारमा अतियथार्थवाद र स्वैरकल्पनाको प्रयोग गरी लेखिएकाले पनि यस उपन्यासको पठनअनुभूति तुलनात्मक रूपमा फरक हुनसक्छ ।
उपन्यासमा प्रयोग भएका पात्र, परिवेश, कथानकजस्ता पक्षलाई पृथक् शैलीमा प्रयोग गरिएका कारण यस उपन्यासको विषयवस्तु सामाजिक यथार्थ नै भए पनि पाठकले कुनै जादुयी उपन्यास पढिरहेको जस्तो अनुभूति गर्न पुग्छ । शैलीगत रूपमा विभिन्न प्रयोग गरिएकाले उपन्यास पट्यारलाग्दो वर्णन र अनावश्यक भावुकताको प्रस्तुतिबाट समेत जोगिएको छ ।
व्यक्तिको चेतनामा रहेका धारणा, तार्किकता र यथार्थलाई भत्काएर पात्रको अचेतन वा अर्धचेतन मन हाबी हुने चिन्तनलाई अतियथार्थवाद भनिन्छ । मान्छेका अर्धचेतनबाट आएका विभ्रम, स्वप्न तथा आकांक्षाहरूलाई सांकेतिक रूपमा उद्घाटन गर्ने अतियथार्थवादको मान्यतालाई यस उपन्यासमा प्रयोग गरिएको देखिन्छ । उपन्यासको पहिलो र दोस्रो भाग पढ्दा नै यस कुराको अनुभूति हुन्छ ।
विशेषतः साहित्यलाई अझ त्यसमा पनि आख्यानलाई समाजको ऐनाका रूपमा चिनाउने गरिन्छ । समाजको चित्रलाई आख्यानमा जस्ताको त्यस्तै उतारिएको हुन्छ भन्ने मान्यतालाई आधार मानेर हेर्ने हो भने यस उपन्यासले त्यस कुरालाई अस्वीकार गरेको छ । किनकि, साहित्यले समाजको यथार्थलाई ऐनाले देखाएजसरी बाह्य र सतही रूपमा हुबहु देखाउने होइन कि यसले समाजका दृश्य–अदृश्य सत्यलाई विविध पद्धतिका माध्यमबाट देखाउन सकिन्छ भन्ने कुरा यस उपन्यासले प्रस्ट पारेको छ ।
उपन्यासमा प्रयोग गरिएको अर्को पक्ष भनेको स्वैरकल्पना हो । स्वैरकल्पना विषयभन्दा पनि शैलीका रूपमा प्रयोग भएको छ । साहित्यमा स्वैरकल्पनालाई मनोरञ्जन दिने एक शैलीका रूपमा लिइए पनि यसले सिधै व्यक्त गर्दा सपाट र सामान्य लाग्ने विषयलाई गम्भीर बनाउन सहयोग गर्छ । खासगरी अतिकल्पना, अयथार्थतता र जादुयी शैलीको प्रयोग गरी व्यंग्यात्मक प्रभाव जमाउन स्वैरकल्पनाको प्रयोग गरिन्छ ।
यस पुस्तकमा पनि विषयलाई कौतूहलपूर्ण बनाउन र उत्सुकता जगाउनका लागि र गम्भीर विषयसन्दर्भलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नका लागि स्वैरकाल्पनिक बनाइएको छ । अप्राकृतिक मानव वा दृश्य देखाएर यथार्थलाई व्यंग्यात्मक रूपले प्रस्तुत गरिएको यस उपन्यासमा कतिपय यथार्थलाई स्वैरकल्पनाका रूपमा र कतिपय स्वैरकल्पनालाई यथार्थका रूपमा प्रस्तुत गरिएको छ ।
आर्याको सपना त बालगृहबाहिरका अरू बालबालिकाले जस्तै सहज किसिमले आफ्नो बाबुआमाबीच बस्ने, उनीहरूको हात समातेर हिँड्ने र बाबुआमाकै आश्रयमा एउटै छतमुनि बस्ने थियो । तर, त्यो सपना अब उनको जीवनको असम्भव स्वैरकल्पनामा सीमित भइसकेको थियो । (पृ. ५३) भन्ने समाख्याताको भनाइले मानिसका कतिपय यथार्थ आफैँमा स्वैरकल्पनाजस्ता हुन्छन् भन्ने कुरालाई देखाएको छ ।
उपन्यासको प्रमुख पात्र आर्या भए पनि सशक्त पात्र भने अस्मिता हुन्, जसका माध्यमबाट आजको पितृसत्तात्मक समाजको यथार्थलाई उपन्यासमा उजागर पारिएको छ र उपन्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो । उच्च पदमा रहेका कतिपय महिलाहरू बाहिरी आवरणमा महिलाजस्ता देखिए पनि सोच, विचार, अहम्, दम्भलगायत सबै कुराहरू पुरुषकै बोकेर हिँडिरहेकाले त्यस्ता महिलाहरू सरकारको विशिष्ट पदमा रहनु या नरहनुले आममहिलाका लागि अर्थ नराख्ने कुरालाई यस उपन्यासमा प्रभावी रूपमा देखाइएको छ ।
बिहान नियमित दैनन्दिनीमा व्यस्त हुँदा म महिला नै हुन्छु । तर जब अदालत जाने बेला हुन्छ, मभित्रबाट निस्किएको त्यो पुरुष कताकताबाट फेरि आइपुग्छ र फुत्त मभित्र पस्छ । त्यो मसितै अदालत जान्छ । मसितै त्यो इजलासमा बस्छ । मेरो कानबाट त्यसले पनि कठघरामा उभिएका वादी र प्रतिवादीका बयानहरू सुन्छ । त्यसपछि कलम त म अर्थात् न्यायाधीश अस्मिताकै हातले समात्छ । तर, आदेश मैले होइन, त्यसैले लेख्छ । फैसला पनि त्यसैले लेख्छ । (पृ. २३३) अस्मिताको यस भनाइले पितृसत्ताको विरासत पुरुषले मात्र जोगाएका छैनन् स्वयम् महिलाले नै बोकेर हिँडेका हुन्छन् भन्ने कुरालाई स्पष्ट पारेको छ ।
दुःख र समस्या सबैसँग छन्, पुरुषसँग पनि र महिलासँग पनि तर सामाजिक संरचना र आर्थिक दृष्टिकोणले हेर्दा पुरुषको तुलनामा महिलाको जीवन कति दुरुह, जटिल र कष्टकर हुन्छ भन्ने कुरा स्वतःस्फूर्त रूपमा आएका छन् ।
उपन्यासको अर्को विशेष पक्ष भनेको पात्र वा चरित्रमा गरिएको प्रयोग हो । उपन्यासमा प्रयुक्त पात्रहरू कुन वास्तविक दुनियाका पात्र हुन् र कुन अवास्तविक दुनियाँका हुन् भन्ने कुरामा अलमल्ल परेका पाठकहरू उपन्यासको अन्त्यमा पुगेपछि भने स्पष्ट हुन्छन् ।
उपन्यासमा प्रयुक्त अधिकांश पात्रहरू वास्तविक दुनियाँका नभएर आर्याले आफ्नो नाटकमा प्रयोग गरेका पात्रहरू हुन् र सुयोगवीर भन्ने पात्रचाहिँ पारिजातको शिरीषको फूल उपन्यासको प्रमुख पात्र हो । यसरी नाटक र उपन्यासका पानाबाट आएका पात्रहरूलाई नै यस उपन्यासमा विनिर्माण गरिएका छन् ।
यसरी हेर्दा पाठकको मनमा प्रश्न पनि उठ्न सक्छ कि वास्तविक समाजबाट नभई कुनै कृतिबाट ल्याइएका यी पात्रहरू केवल स्वैरकाल्पनिक पात्र मात्र हुन् त ? तर होइन । ती सबैले हाम्रै समाजका वास्तविक पात्रको प्रतिनिधित्व गरेका छन्् र ती स्वैरकाल्पनिकजस्ता देखिए पनि उनीहरूले उठाएका मुद्दा र उनीहरूले बाँचेको जीवन यथार्थकै प्रतिविम्बन हो ।
यसरी पात्रहरूको उपस्थिति र भूमिकामा गरिएको प्रयोगले उपन्यासलाई अझ विशेष बनाएको छ ।
उपन्यासमा कथानकलाई पनि यसरी बुनिएको छ कि जसले पाठलाई नै रहस्यमय बनाएको छ र रहस्य नै रहस्यको सिँढी चढाएर पाठकलाई उपन्यासको गन्तव्यसम्म पुर्याएको छ ।
सुरुबाट नै उपन्यासमा जेजस्ता घटना, पात्र र सन्दर्भहरू आएका छन् ती त्यहीँ प्रयोग भएर समाप्त हुँदैनन् । ती पछि आउने हरेक सन्दर्भका कारणका रूपमा प्रस्तुत गरिएका छन् ।
उपन्यासको आरम्भतिर ती पात्रहरूको उपस्थिति र भूमिका पाठकलाई कुनै हावादारी सिनेमाको प्रस्तुतिजस्तो पनि लाग्न सक्छ । तर, जब पाठक त्यसभित्र पस्दै जान्छ र रहस्यका पर्दाहरू खुल्न थाल्छन् अनि ऊ फेरि अगाडिकै सन्दर्भतर्फ फर्किन बाध्य हुन्छ । यही नै यस उपन्यासको खास विशेषता हो ।
पारिजातको उपन्यास शिरीषको फूलको नायक सुयोगवीर कसरी आयो उपन्यासमा आर्याका प्रेमी भएर ? उपन्यासको सुरुदेखि अन्त्यसम्मको प्रमुख घटनामा उडिरहेका पुतलीहरूको प्रयोग किन गरियो ? के विम्ब आर्याको आफ्नै बाबु हो ? मूलपानीको आश्रमबाट ल्याइएकी सारा वास्तविक पात्र हो कि काल्पनिक ? सोफियाको कथा किन अधुरै छोडियो ? जस्ता प्रश्नहरू उपन्यास पढिरहँदा आमपाठकको मनमा दोहोरिइरहन्छन् र यसले पठनका क्रममा पाठकलाई समेत क्रियाशील बनाइरहन्छन् ।
भौतिक रूपमा झगडा गरेर, अनशन बसेर, ढुंगामुढा गरेर समाजमा भएका विसंगति र खराबीहरूलाई छुमन्तर गरेर हटाउन सक्ने सामर्थ्य लेखक वा साहित्यकारमा नहोला, तर उसले आफूले चाहेको समाज र पात्रलाई आफ्नै कृतिका माध्यमबाट देखाउन सक्छ र त्यस्तै समाजको निर्माण गर्न सक्छ भन्ने आशय पनि यस उपन्यासमा पाइन्छ ।
यस कुरालाई उपन्यासमा यसरी भनिएको छ– तिमीले म लेखक हुँ भन्ने कुरा किन बिर्सेको ? म अस्मितालाई पनि आफ्नो पात्र बनाउँछु । सारा हत्याको बदला त म जसरी पनि लिन्छु । यथार्थमा अस्मिता मरून् बाँचून् मलाई मतलब छैन । तर, मेरो कथामा अस्मिता मर्नु जरुरी छ । उनी मद्वारा निर्माण गरिएका पात्रहरूबाटै मर्नु जरुरी छ । संसारले थाहा पाउनु जरुरी छ, लेखकले कसरी बदला लिन्छ ।
यसरी यस उपन्यासमा पनि काल्पनिक समाज र पात्र खडा गरेर तिनको हैसियत, तिनको सोचले समाजमा पारेको नकारात्मक प्रभाव र ती पात्रहरूको दुःखद अन्त्यलाई उपन्यासमा रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
उपन्यासमा कार दुर्घटना हुनु, त्यहाँबाट रगतको सट्टामा इन्द्रधनुष निस्कनु, पुतली उड्नु, गुलाफी पुलको संसारमा पुग्नु, त्यहाँ उत्तिखेरै आँधी आउनु, आँधीले उडाएर पेन्टिङ आर्याको गोडामा ल्याइपुर्याउनु, आर्याको बन्द कोठाभित्र उपन्यासको पात्र सुयोगवीर आएर बस्नु, ऊ छिनमै अलप हुनुजस्ता स्वैरकल्पनाको निर्माण गरी कथानक बुनिएको छ ।
साथै, अभयसुन्दरको हवेलीको वर्णन, दुई मान्छेको कंकालमा भेटिएको गुलाफको ताजा फूल, न्यायमूर्ति अस्मिताको घर र सेता मुसाजस्ता दृश्यको सन्दर्भहरूले पनि पाठकलाई जादुयी यथार्थमा पुर्याएका छन् ।
उपन्यासमा प्रयोग गरिएको परिवेश कुनै खास समाज छैन । र, कुनै खास संस्कृति, भूगोल र पहिचान झल्किने परिवेशको निर्माण गरिएको छैन । त्यसैले उपन्यासले खास कुन परिवेशको परिवेश पनि कुन यथार्थ हो, कुन काल्पनिक हो र कुन स्वैरकाल्पनिक परिवेश हो भन्ने स्पष्ट हुँदैन ।
बालगृह, आर्याको कोठा, रंगमञ्च, रंगमहल, स्टुडियो, अध्ययन कोठा, हवेली, बगैँचा, अस्मिताको घर आदि नै उपन्यासको परिवेश बनेर आएका छन् । तिनी कथाका लौकिक अलौकिक सन्दर्भलाई पुष्टि गर्ने क्रममा आएका देखिन्छन् । त्यसैले यहाँ परिवेशका दृष्टिले पनि प्रयोगमूलक देखिन्छ । यसरी मूर्त, अमूर्त र विशिष्ट परिवेशको निर्माण गरेर उपन्यासलाई रोचक बनाइएको छ ।