(कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको रुचि साहित्य, कला, संस्कृतितर्फ रहेको उनका क्रियाकलापले देखाउँछ । एपेक नेपालले इटहरीमा आयोजना गरेको एपेक राष्ट्रिय काव्यमहोत्सवको उद्घाटनका बखत उनले ‘विकास भनेको सडक र पुलको निर्माण मात्र नभई साहित्य, कलासंस्कृतिको विकास हुनु पनि हो’ भनेबाट उनको यतातिरको रुचि देखिन्छ । आफूले यसतर्फ काम गरिरहेको पनि उनले बताए । काव्यमहोत्सवकै सन्दर्भमा गत शनिबार मुख्यमन्त्री कार्कीसँग साहित्य, कलासंस्कृतिका विषयमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश ।)
के तपाईंलाई साहित्यमा रुचि छ ?
मैले साहित्य लेखिनँ । तर, एउटा उमेरमा कथा, कविता, लघुकथाहरूले बेग्लै प्रभाव पार्थ्यो । घरमा आमाबुवा, हजुरआमाले भन्ने गरेको कथा एकखालको हुन्थ्यो, नानीबाबुहरूलाई फकाउने खालको । मौका पाएका बखत म कथा, कविता पढ्ने गर्थें । हाम्रो समाज विकासको क्रममा पनि होला, त्यही कुरा सामान्य मानिसले भन्दा सामान्य लाग्ने हुन्थ्यो भने त्यही कुरा गीत, कविता वा कथाका रूपमा लेखक, कविले लेखिदिँदा, त्यो रचना सुन्दा र पढ्दा सुन्दर पनि लाग्थ्यो । त्यसरी लेखिँदा छिटो बुझिने, अर्थ लगाउन सकिने र त्यसले मानिसले आफूलाई परिवर्तित गर्न भूमिका खेल्ने भएको हुँदा पनि यसप्रति विशेष रुचि थियो ।
अर्को कुरो, हामी झापा, गौरादहको जनता माध्यमिक विद्यालयमा पढ्दा दुईतीन घण्टीपछि साहित्यिक, सांस्कृतिक कार्यक्रमहरू हुन्थ्यो, अतिरिक्त क्रियाकलापअन्तर्गत । त्यहाँ क्विज कन्टेस्ट हुन्थ्यो । खेलकुद हुन्थ्यो । त्यो हाम्रो जीवनको एउटा अंग नै बनेको थियो ।
हाम्रा गुरुहरू ललितकला, साहित्य विधाका क्षेत्रमा पोख्त व्यक्ति हुनुहुन्थ्यो । चित्र बनाउने, कविता लेख्ने, कथा लेख्ने, गीत गाउने सबै खालका गुरुहरू हुनुहुन्थ्यो । वास्तवमा त्यतिखेर मानिसमा रहेको क्षमतालाई उजागर गर्ने ठाउँ कम हुन्थ्यो । प्रिन्ट मिडिया कमजोर थियो । एउटा रेडियो नेपाल थियो, अरू प्रभावकारी माध्यम थिएन । टेलिभिजन त हाम्रो कल्पनामा पनि थिएन ।
यी केही नभएको बेला आफ्नो क्षमता उजागर गर्ने माध्यम गाउँघरका विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र विभिन्न मेला नै हुन्थ्यो । त्यहीँ अवसर मिल्थ्यो । अवसर असाध्य सीमित थिए, तथापि त्यो हाम्रा लागि महत्त्वपूर्ण हुन्थ्यो । त्यतिखेर आजको जस्तो धेरै विकल्प थिएन । सायद त्यसैले पनि होला, यस्ता कु्राले धेरै आकर्षित गर्थ्यो मलाई ।
मलाई राजनीति गर्नुपर्छ, समाजसेवा गर्नुपर्छ भन्नेतर्फ लगाउने यिनै साहित्यिक, सांस्कृतिक गतिविधिहरू नै हुन् भन्ने लाग्छ ।
विद्यालयमा अतिरिक्त क्रियाकलापको महत्त्व कत्तिको देख्नुहुन्छ ?
आजको समयमा यो विषय अझ बढी आवश्यक भइसकेको छ । हिजोको समाजमा मानिसले पढ्ने अवसर कम थियो । थोरैले पढे होलान् । तर, २०२८/३० सालपछि गाउँगाउँमा विद्यालय खुलेपछि पढ्न चाहनेहरूका लागि ठूलो अवसर मिल्यो । मानिसले पढ्न थाले । तर पनि सीमित मानिसले मात्रै पढे ।
अहिलेको समयमा जुन बेथितिहरू, कुसंस्कारहरू, अनेक खालका गलत अभ्यासहरू छन्, त्यो बेला यी कुराहरूको खासै ठूलो दायरा थिएन । तर, अहिले समाजचाहिँ हाम्रा मूल्य–मान्यता र धरोहरहरू भत्काउने प्रक्रियामा छन् । खासमा हाम्रो चेतनामा आएका नकारात्मक पात्र र प्रवृत्तिले यो कुरा गरिरहेको छ । त्यसैले पनि अहिले यो परम्परा झन् बढी आवश्यक भएर गएको छ । अझ भनूँ, जुन हामीले विद्यालयमा नैतिक शिक्षा पढ्यौँ नि, त्यसलाई हामीले नै विरोध गरेर हटायौँ पनि । तर, अहिले त्यो हिजोभन्दा बढी आवश्यक भएको छ ।
मानिसले तीन कुरामा विशेष ध्यान दिनुपर्छ । त्यो आवश्यक पनि छ । मानिसले ‘म को हुँ’ भन्ने कुरा बुझ्नुपर्छ । दोस्रो, ‘मेरो मप्रति र मेरो घरप्रतिको दायित्व के हो’ भन्ने बुझ्नुपर्छ । तेस्रो ‘मेरो समाज र राष्ट्रप्रतिको दायित्व के हो’ भन्ने पनि बुझ्नुपर्छ । यी तीन कुरामा रहेर मानिस ठिक ठाउँमा हुने हो भने समाज कहिल्यै बिग्रिँदैन ।
आज यी कुराहरूले बाटो बिराएको छ । समाज विकासको क्रमसँगसँगै आएका धेरै खालका उच्च प्रविधि र ज्ञानले पनि मानिसलाई बिगार्ने काम गरिरहेको छ । त्यसैले मानिसलाई सही मार्गमा ल्याउन पनि यी तीन गतिविधिमा ध्यान हुनुपर्छ । अझै यसमा चाहिँ नैतिकताका प्रश्नहरू जोडिएर आफ्नो देशको इतिहास, पहिचान, कलासाहित्य र सांस्कृतिक पक्षको सामान्य ज्ञान मानिसमा हुनुपर्छ । मानिसले आफ्नो दायित्व भुलेन भने समाज ठिक बाटोमा जान्छ नै ।
कोसी प्रदेशका स्कुल, साहित्य, कलासंस्कृति र तिनमा सक्रिय संघसंस्थाहरूलाई कसरी विकास गर्ने सोच्नुभएको छ ?
म योभन्दा अघि पनि प्रदेश सरकार सुरु हुँदाको मन्त्री थिएँ । तिनताक हामीकहाँ (कोसी प्रदेशमा) माध्यमिक विद्यालयहरू दुई हजारवटा थिए । र, मैले एउटा विशेष कार्यक्रम नै अघि बढाएको थिएँ । ‘म अघि बढ्छु’ भन्ने स्लोगनसहित हामीले काम अगाडि बढाएका थियौँ ।
‘सगरमाथा टिन्स क्लब’ कोसी प्रदेशका हरेक विद्यालयमा बनाउने र त्यसका माध्यमबाट विद्यालयका आठदेखि ११/१२ कक्षामा पढ्ने विद्यार्थीहरूलाई ‘म को हुँ, मेरो घर, समाज र देशप्रतिको दायित्व के हो’ भन्ने दृष्टिकोणका साथ अघि बढाउने अभियान सुरु गरेका थियौँ । प्रदेशका करिब एक हजार ६०० विद्यालयमा यो कार्यक्रम लागु भएको थियो । तर, कोरोना कहरका कारण यो अघि बढ्न सकेन । अहिले म फेरि मुख्यमन्त्री भएपछि यसलाई निरन्तरता दिने पहल गरेको छु । अहिले हामी एउटा ऐन बनाउने प्रक्रियामा छौँ । यसका लागि सम्बन्धित मन्त्रीलाई कानुन बनाउन भनिसकिएको छ ।
असल र चरित्रवान् नागरिक निर्माणका लागि थालिएको यो पहलका निम्ति एउटा कानुनको मस्यौदा पनि बन्दै छ । त्यो बनेपछि हामी विद्यालयभित्र र विद्यालयबाहिर पनि त्यसलाई लागु गर्नतिर लाग्नेछौँ ।
अहिले लागुपदार्थको दुर्व्यसन बढिरहेको छ । राष्ट्रिय झन्डा ओढेर विभिन्न धरोहरहरू जलाउने काम भएको छ । होला, मानिसमा आक्रोश हुन्छ । विरोध पनि हुन्छ । तर, त्यस किसिमको आक्रोश हाम्रा धरोहर, हाम्रा मूल्य–मान्यतामाथि डढेलो लगाउने किसिमको हुनुहुँदैन । त्यसैले पनि असल र चरित्रवान् व्यक्तिको निर्माण नेपालको पहिलो आवश्यकता हो भन्ने लाग्छ ।
राजनीतिक नेतृत्वमा पनि एउटा भाष्य गलत बनाइयो । म सत्तामा छु त सबै ठिक छ, म छैन भने सबै बेठिक ! व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । एउटा दुइटा घटनाले पनि हामीलाई धेरै तल पुर्याउँदो रहेछ भन्ने त हामीले देख्यौँ नै । त्यसैले यस विषयमा प्रदेश सरकारले आफ्नो दायित्व महसुस गरेको छ र हामी केही राम्रो काम गर्न अगाडि बढिरहेका छौँ ।
साहित्य, कलासंस्कृतिको विकासका लागि के गर्दै हुनुहुन्छ ?
मैले सबै मन्त्रालयलाई भनेको छु, साहित्य, कलासंस्कृतिको विकास र प्रवद्र्धन लागि काम गरियोस् भनेर । हामीले त्यस्ता संस्थाको भवन निर्माण र विभिन्न कार्यक्रममा सहयोग पनि गर्दै आइरहेका छौँ ।
इटहरीमा कवि एवम् प्रदेशसभा सदस्य मीना श्रेष्ठले साहित्यिक सदन निर्माणको कुरा उठाउनुभएको छ, के भन्नुहुन्छ ?
अघि (कार्यक्रममा) मन्त्रीजीले पनि यस विषयमा आफ्नो प्रतिबद्धता जाहेर गरिसक्नुभएको छ । साहित्य, कला विकासको यस कार्यमा हाम्रो पर्याप्त सहयोग रहनेछ । यस्ता कला, साहित्य र संस्कृतिको विकासमा हामी उदार छौँ । हामीले भ्याएसम्मका काम गर्छौं ।