काठमाडौं । नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिइएको छ । नेपाल स्काउट शुद्धीकरण अभियान समितिमा आबद्ध व्यक्तिहरूले शनिबार (कात्तिक २२) धर्ना दिएका हुन् ।
स्काउटको निर्देशक नियुक्तिका निम्ति शनिबार ‘सर्टलिस्ट’मा परेका व्यक्तिहरूलाई अन्तर्वार्तामा बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर धर्ना दिइएको हो । धर्नामा प्रहरीसँग उनीहरूको धकेलाधकेल समेत भएको थियो ।
समितका संयोजक देवदूत अधिकारीले निर्देशक पदका निम्ति गरिएको आवेदन आह्वान नै गलत भएको जिकिर गरे । बहालवाला निर्देशक हुँदाहुँदै नयाँका निम्ति आवेदन आह्वान गरिएको उनको भनाइ छ ।
उनले प्रमुख आयुक्तका विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताए । निर्वाचित भएको प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर नाइटिंगेल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर पद दिइएको उनको आरोप छ ।
उनले स्काउटभित्रका विकृति–विसंगति र भ्रष्टाचार अन्त्य गर्न छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्नेमा जोड दिए । प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उनले माग गरे ।
स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकबाट आफूलाई यसअघि प्रमुख आयुक्त पदमा निर्वाचित गरिएको बताए । तर, तत्कालीन मन्त्री चौधरीले एक वर्ष नपुग्दै आफूलाई हटाएको उनले उल्लेख गरे ।
कानुनी प्रक्रिया नपुर्याई आफूलाई हटाएर घिमिरेलाई प्रमुख आयुक्त बनाइएपछि सर्वोच्चमा मुद्दा हालेको उनले जानकारी दिए । हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा नयाँ निर्देशक पनि नियुक्त गर्न नमिल्ने उनले जिकिर गरे । न्युज एजेन्सी नेपाल