site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाले वार्तामा बोलाएपछि खेलाडी संघका अध्यक्ष भन्छन्- पारदर्शी बनाउन प्रत्यक्ष प्रसारण गरौँ

काठमाडौं । यो वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुने भएपछि ‘खेल्न पाउनुपर्छ’ भन्दै प्रदर्शनमा उत्रिएका खेलाडीहरूले आफूहरूको माग घरेलु लिगलाई चलायमान बनाउनु भएको बताएका छन् ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन लिगका क्लबहरूले कात्तिक १७ गतेको बैठकबाट यो वर्ष लिग नगराउने सहमति गरेका थिए । उक्त बैठकमा क्लब र एन्फा ‘ए’ डिभिजन लिगको विकल्पमा यो वर्ष राष्ट्रिय लिग गर्ने सहमति बनेको थियो ।

एन्फा र क्लबहरूले लिग नगर्ने सहमति गरेपछि नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा पूर्व तथा वर्तमान राष्ट्रिय टिममै रहेका खेलाडी कात्तिक २० गते दबाबमूलक प्रदर्शनमा उत्रिएका थिए । उक्त प्रदर्शनपछि संघले एन्फालाई एक हप्ताभित्र खेलाडीहरूको माग सम्बोधन नगरे थप कडा विरोधमा उत्रिने चेतावनीसमेत दिएको थियो ।

राष्ट्रिय टिममै रहेका खेलाडीहरूबाट विरोध भएपछि एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी संघलाई छलफलमा बोलाएको थियो । संघका अध्यक्ष विक्रम लामा एन्फाले छलफलमा बोलाउनु राम्रो भएको र घरेलु फुटबल चलायमान बनाउनुपर्ने विशुद्ध माग आफूहरूको भएको बताउँछन् ।

“हाम्रो माग भनेको घरेलु फुटबलको विकाशका निम्ति शीर्ष, बी र सी डिभिजन लिग नियमित हुनुपर्छ भन्ने हो । फुटबल हुनुपर्छ भनेर दबाबकै निम्ति बिहीबार एन्फामा धर्ना दिएका थियौँ,” नेपाल फुटबल खेलाडी संघका अध्यक्ष लामाले बाह्रखरीसँग भने, “धर्नापछि एन्फाका पदाधिकारीहरूले वार्ताबाट समाधान खोजौँ भन्नुभएको छ । हामी पनि छलफलबाटै समाधान निस्किनुपर्छ भन्नेमा छौँ । तर, वार्तालाई थप पारदर्शी बनाउन प्रत्यक्ष प्रसारणको माग गरेका छौँ ।”

कात्तिक २० गते एन्फा मुख्यालयको गेटमै भएको उक्त विरोध कार्यक्रममा खेलाडीहरूले एन्फाले केही गर्न नसकेको भन्दै विभिन्न प्रतियोगितामा जितेका पदक गेटमै झुन्डाएर फर्किएका थिए ।

त्यसअघि कात्तिक १७ गते एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधिको बैठकले अर्को वर्षदेखि मात्र ‘होम एन्ड अवे’को आधारमा ‘ए’ डिभिजन गर्ने सहमति गरेका थिए । जसमा तीन वर्षअघि भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली र बुधबारदेखि हेटौँडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्