site stats
बाह्रखरी :: Baahrakhari
देश
यसरी घोषणा गरिएको थियो ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुने ७६ मध्ये ४५ जनालाई सहिद
जेनजी प्रदर्शन । फाइल तस्बिर ।

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर ७६ जनाको मृत्यु भएको थियो । तर, तीमध्ये ४५ जनालाई मात्र सरकारले सहिद घोषणा गरेको छ । बाँकी ३१ जनालाई सरकारले सहिद घोषणा गरेको छैन ।

‘जेनजी’ प्रदर्शनका क्रममा मारिने ७६ मध्ये ४५ जनालाई कसरी सहिद घोषणा गरियो भन्ने गृह मन्त्रालयले स्पष्ट पारेको छ । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको प्रगति विवरणमा ४५ जनालाई सहिद घोषणा गरिएकोबारे उल्लेख गरेकाे हाे । 

गृह मन्त्रालयका अनुसार, प्रधानमन्त्री एवम् गृहमन्त्रीको २०८२ भदौ २९ मा वहालीको क्रममा फाइल तयारी गरिएको थियो । सोहीअनुसार, जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने निर्णय गरिएको थियो ।

सहिद घोषणा गर्न प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकीन गरी गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने भनि २०८२ भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिएको थियो ।

२०८२ भदौ ३० गते मन्त्रिपरिषद्को निर्णयबमोजिम मृत्यु भएका ७६ जनाको विवरण संकलन गरिएको थियो । “सहिद घोषणा प्रयोजनका लागि मृतकहरूको हालसम्म प्राप्त पुस्ट्याइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सिफारिसका आधारमा सहिद घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको र सोही बमोजिम ४५ जनालाई सहिद घोषणा गरिएको,” गृह मन्त्रालयले भनेको छ । 

२०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा मृत्यु भएकामध्ये ४५ जनालाई यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्