site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपतिमा राजनीतिको छाया पर्न दिनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएकी छन् । सोमबार (कात्तिक २४) बसेको कोष सञ्चालक परिषद्को बैठकमा उनले धार्मिक संस्थामा सोही क्षेत्रका व्यक्ति नै आवश्यक पर्ने भन्दै राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुनेमा जोड दिएकी हुन् ।

कोषको सम्पूर्ण काम–कारबाहीको सञ्चालन र रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा उक्त परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् ।

“धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन् । परम्पगत मान्यता र रीतिथितिहरू हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन् । यी मूल्य–मान्यताको जगेर्ना गर्नुपर्छ,” उनले बैठकमा भनिन्, “संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ ।”

उनले अगाडि भनिन्, “यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायामा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छाया पर्न दिनु हुँदैन । दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन ।”

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्