दमक । ‘जेनजी’ आन्दोलनका क्रममा झापामा इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ का २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ का १९ वर्षीय रियाज सिलवाल छन् । दुवैलाई आइतबार (कात्तिक २३) राति दमकबाट अनुसन्धानका निम्ति नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न रहेका आरोप छ । योसँगै इप्रका दमकमा आक्रमण गर्ने चारजना पक्राउ परिसकेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, दुई दिनअघि मात्र इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ स्थायी ठेगाना भई दमक–५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । हालसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट ६ गरी १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूको भिडियो र फोटोका आधारमा पहिचान गर्ने कार्य भइरहेको स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूविरुद्ध ५० भन्दा बढी उजुरी परेको र त्यसमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस