काठमाडौं । “खेलाडीहरू रहरले विदेशिएका हैनन् । नेपाली घरेलु फुटबलमा रहेर आफूलाई धान्न नसक्ने देखेपछि पलायन भएका हुन्,” नेपाली फुटबल कुन स्थितिमा छ भन्ने बुझ्न पुरुष राष्ट्रिय टिमका नियमित सदस्य रक्षक अनन्त तामाङको यो भनाइ नै काफी छ ।
घरेलु फुटबलले शीर्ष डिभिजन लिग नपाएको तीन वर्ष पुग्नै लागिसक्यो । तर, आफूलाई नेपाली फुटबलको अभिभावक बताउने अखिल नेपाल फुटबल संघ (एन्फा) उदासीन बन्दा अझै पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग कहिले हुन्छ भनेर दाबी गर्न सक्ने स्थिति बनिसकेको छैन । समर्थक निराश छन् । कतिसम्म भने, एन्फाको यो प्रवृतिबाट राष्ट्रिय टिममै रहेका नियमित खेलाडी पनि आजित बनिसके ।
यो वर्ष दुईपटक क्यालेन्डर सार्वजनिक गर्दा पनि एन्फाले शीर्ष डिभिजन लिग नहुने बताएपछि खेलाडीहरू असह्य बनेका छन् । फुटबल विकासको आशा बेचेर ‘चेन्ज एन्फा’को नारासहित एन्फा कार्यसमितिमा आएका पदाधिकारीलाई ‘कम्तीमा हामीलाई खेल्ने वातावरण त बनाइदेउ’ भन्नेसम्मको स्थिति आउँदा समेत नेतृत्वलाई खेलाडीको यो पीडाले छोएको छैन ।
यही पीडालाई खेलाडीहरूले कात्तिक २० गते सातदोबाटोस्थित एन्फा मुख्यालयमै पुगेर पोखे । तर, ‘खेलाडी राष्ट्रका गहना हुन्, एन्फा उनीहरूको घर हो’ भन्दै प्रशंसाको पुल बाध्ने एन्फाले त्यो दिन भने खेलाडीलाई आफ्नै घरको आँगनसम्म टेक्न दिएन । अखिल नेपाल फुटबल खेलाडी संघले राखेको यो धर्ना कार्यक्रममा वर्तमान राष्ट्रिय टिममा खेलाडी, पूर्वखेलाडी, वर्तमान र पूर्वप्रशिक्षकसँगै नेपाली फुटबलका शुभचिन्तक मुख्यालय पुगेका थिए ।
शान्तिपूर्ण धर्नाको कार्यक्रमसहित एन्फा मुख्यालय पुगेको खेलाडीसामु एन्फाले गेट बन्द गरिदियो । चरम निराशाबाट गुज्रिरहेका खेलाडी आक्रोशित बनेनन्, उनीहरूले राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर जितेका मेडललाई गेटमै झुन्ड्याएर फर्किए । नेपाली फुटबलको इतिहासमै पहिलोपटक खेलाडीहरू सडक संघर्षमा उत्रिँदा क्षमायाचना त परको कुरा एन्फाले अझैसम्म ‘हामीले लिग गर्न सकेनौँ’ भन्न सकेको छैन । यो कमजोरी कदापि स्वीकार्ने पक्षमा पनि देखिँदैन ।
एन्फाको ‘ए’ डिभिजन लिग गराउने मनसाय नदेखेपछि खेलाडी संघले सामाजिक सञ्जालमा एक भिडियो राखेको छ । जसमा वर्तमान र पूर्वखेलाडीहरूले प्रश्न गरिरहेका छन्, ‘हेल्लो एन्फा, ए डिभिजन लिग कहिले ?’
“मैदानबाहिर तनाव छ । हामी संघर्ष गरिरहेका छौँ । राष्ट्रिय टिममा हुने खेलाडी केही सहज स्थितिमा छौँ । तर, दोस्रो र तेस्रो डिभिजन लिग खेल्ने खेलाडीहरू निकै समस्यामा छन् । प्रशिक्षण नियमित गरे पनि खेल्न पाइरहेका छैनन्,” राष्ट्रिय टिमकै मिडफिल्डर आदित्य शाक्यले सोमबार एन्फा मुख्यालयमै आयोजित बिदाइ कार्यक्रममै दुःखेसो पोखे, “हामीभन्दा अघिका खेलाडीले पनि खेल्न पाएनन् । तर, हाम्रो समयमा परिवर्तन हुन्छ भन्ने आशा थियो । तर, हालसम्म पनि त्यही परिस्थिति हुँदा निकै दुःख लाग्छ । नयाँ भाइहरूलाई भविष्य छ की छैन भनेर उत्तर दिनुपर्छ । हामीले कसरी जवाफ दिने ? नयाँ खेलाडीहरूलाई कसरी प्रेरणा दिने ?”
एएफसी एसियन कप छनोट तेस्रो चरणअन्तर्गत मलेसियाविरुद्ध खेल्न जाने टिमको बिदाइ कार्यक्रममा आदित्यले जवाफ खोजिरहँदा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राईसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासमेत मुकदर्शकमात्र बने । जवाफ कसैले दिन सकेनन् ।
आदित्यको प्रश्न अनुत्तरित रहँदा अनन्तले भने अध्यक्षकै अघि व्यंग्यात्मक भावना राखे । हालसम्म चार पटकमात्र लिग खेल्न पाएको हुँदा लिग नहुनु आफ्नो निम्ति अ–स्वाभाविक नभएको बताए ।
“सिनियर खेलाडी भएकाले पनि होला, व्यक्तिगत रूपमा यो स्थिति मेरो लागि सामान्य भइसक्यो । मैले एक दशकको करियरमा जम्मा चार वटा लिग खेलेँ । अहिले नेपाली फुटबलले भोगिरहेको पीडा विगतमा मैले पनि भोगेकाले बंगलादेशमा खेलिरहेको छु भनेर खुसी हुने अवस्था नै छैन । नेपाली फुटबल निरन्तर खस्किँदै छ । यसको मुख्य कारण घरेलु लिग नहुने हो,” अनन्तले भने ।
कूटनीतिक जवाफले विवादमा कप्तान
खेलाडी संघले राखेको धर्ना र सोमबारको बिदाइ कार्यक्रममा खेलाडीहरूले खुलेरै लिग हुनुपर्ने माग राखे । तर, राष्ट्रिय टोलीको कप्तानसमेत रहेका किरणकुमार लिम्बुले सोझै खेलाडीको मागमा आफूलाई उभ्याएनन् । कूटनीतिक बनेका किरणले एन्फा पक्षमा खुल्न पनि सकेनन् । तर, राष्ट्रिय टिमका खेलाडी सडक संघर्ष उत्रिन नहुने बताए ।
उनले भनेका थिए, “राष्ट्रिय टिममा खेलिरहेका खेलाडीहरू प्रदर्शनमा उत्रनु नैतिकताले दिँदैन । खेलाडी संघ भनेको खेलाडीहरूका निम्ति अभिभावक जस्तो हो । उहाँहरूले खेलाडीका निम्ति कार्यसमितिसँग बैठक गर्ने आफ्नो ठाउँमा छ । राष्ट्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीहरूलाई यस्तो गर्न नैतिकताले दिँदैन । तर, हकको लागि गरेको हो ।”
बिदाइ कार्यक्रममा यस्तो बताएपछि किरण समर्थकबाट आलोचित बनिरहेका छन् । राष्ट्रिय टिमका खेलाडीहरूले पनि अहिले सामाजिक सञ्जालमा किरणले दिएको अभिव्यक्तिको विपक्षमा देखिन्छन् । राष्ट्रिय टिममा रहेका रोहित चन्द, दीप कार्की, अञ्जन विष्ट, एरिक विष्ट, सनिष श्रेष्ठ र अनन्त तामाङसँगै राष्ट्रिय टिममै रहेका अधिकांश खेलाडीले लेखेका छन्, “मैले राष्ट्रिय टोलीबाट खेलिरहेको छु भन्ने अर्थ यो होइन कि नेपाली फुटबलको अवस्था सबै ठीक छ ।”
