काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँगको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगका निम्ति १२० दिनको समय मागेको छ ।
मंगलबार (कात्तिक २५) मन्त्रालयमा मन्त्री गुप्ता तथा शीर्ष डिभिजन लिगका पाँच क्लबका प्रतिनिधिहरूसँगको बैठकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले फागुन अन्तिम सातादेखि लिग गर्ने प्रस्ताव राखेका हुन् ।
“तपाईंहरूलाई पनि तयारीका लागि समय चाहिन्छ, हामीलाई पनि चाहिन्छ । अन्तर्राष्ट्रिय क्यालेन्डर हेर्नुपर्ने हुन्छ । अबको १२० दिन अर्थात फागुन अन्तिम सातादेखि लिग गर्न सकियो भने सबैलाई सहज हुन्छ,” अध्यक्ष नेम्वाङले भने ।
पछिल्लोपटक २०७९ मा सहिद स्मारक ‘ए’ डिभिजन लिग भएको थियो । त्यसयता, पुरुष फुटबल शीर्ष डिभिजन लिग हुन सकेको छैन ।