site stats
बाह्रखरी :: Baahrakhari
देश
स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुट्ने गिरोहका एकजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले स्कुटरलाई ठक्कर दिएर महिलाको सुनको सिक्री लुट्ने गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–७ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१४ ठैव बस्ने ३० वर्षीय गंगेबहादुर तामाङ छन् ।

प्रहरीका अनुसार, गत असोज ५ गते राति १२ बजे ललितपुर–४, जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फको बाटोमा लुटपाटको घटना भएको थियो ।

बागलुङकी ३७ वर्षीया भिमकुमारी सिर्पाली सवार बा.५२ प. १३९२ नम्बरको स्कुटरलाई तामाङसहितको समूहले बा.९३ प.३७६७ नम्बरको स्कुटर र अन्य दुईवटा नम्बर नखुलेका मोटरसाइकलले ठक्कर दिएका थिए ।

प्रहरीका अनुसार, ठक्करबाट सिर्पाली घाइते भएपछि त्यस समूहले उनको करिब ११ लाख रुपैयाँ मूल्य पर्ने सुनको सिक्री लुटेर फरार भएको थियो ।

पीडित सिर्पालीले असोज १० गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरी र लुटपाटमा प्रयोग भएको स्कुटरको नम्बरका आधारमा प्रहरीले उनीहररूलाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, स्कुटरसँगै रहेका चालक तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले आफू र अन्य पाँचजना मिलेर सिक्री लुटेको स्वीकार गरेका छन् ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्