काठमाडौं । धनगढीको उत्तरबेहडीबाट ९५ लाखभन्दा बढी मूल्यको मोबाइल पार्ट्ससहित दुईजनालाई नियन्त्रणमा लिइएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी इलाकाबाट मंगलबार ९५ लाख ५५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरू सोही उपमहानगरपालिका–१९ खेदा बस्ने ३३ वर्षिय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एन्ड सप्लायर्सका संचालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्ता छन् ।
चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटरसाइकलमा राखी भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको नौ लाख आठ हजार रुपैयाँ बराबरको मोवाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका चौधरीले भातरबाट अवैधरूपले ल्याएको मोवाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एन्ड सप्लायर्समा दिने गरेको बताएका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
प्रहरी र कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५५० रुपैयाँ बराबरको मोवाइल पार्ट्ससहित सप्लायर्सका संचालक आसुतोषकुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।