मकवानपुर । ‘जेनजी’ आन्दोलनका क्रममा मकवानपुरको हेटौँडामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । वाग्मती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
सर्लाहीको बरथवा नगरपालिका–१ का २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भनिने रोमबहादुर घतानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।
यस्तै, हेटाँैडा उपमहानगरपालिका–११, नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ ।
उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको छ । रासस