site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यको दर्शन र दर्शनको साहित्य

साहित्य र दर्शन अलग विषय हुन् । दर्शनले मानवीय समस्याका विषयहरूमा तर्कपूर्ण अन्वेषण गर्दछ । तर, साहित्यले मानव अस्तित्वका समग्र विषयमा रचनात्मक र कल्पनाशील अन्वेषण गर्दछ । साहित्यमा मानवीय भावना, संवेग र अनुभूतिहरू छचल्किएका हुन्छन् । तर, दर्शनले तर्क र संगतिलाई औधी महत्त्व दिन्छ ।

साहित्यिक रचनाहरूमा दार्शनिक विचार र दृष्टिकोणहरू राखिएका हुन्छन् । कुनै दर्शन निर्माणमा साहित्यले सहयोग गर्दछ भने निर्मित दर्शनमा साहित्य सिर्जिएको हुन्छ । साहित्य, दर्शन वा अन्य विषयविधाको बीचमा सधैँ रहने विषय भनेको मानिस हो । सबै प्रकारका मानवीय कार्य उसैको हितमा रहन्छन् ।

कतिपय साहित्यिक सिर्जना दार्शनिक आधारमा रचना भएका हुन्छन् । त्यहाँ अभिव्यक्त हुने कुराले विचार र दृष्टिकोण बोकेको हुन्छ । दार्शनिकहरूले दर्शन निर्माणमा साहित्यलाई उपयोग गरेका छन् । प्लेटो, अरस्तु, कृष्णमूर्ति, ओशो, सात्र्र, कामुहरूले साहित्यको अध्ययन आस्वादनबाट दर्शन निर्माण गरेका थिए ।

कतिपय कृति त यस्ता हुन्छन्, जुन दर्शन हुन् वा साहित्य सजिलै छुट्ट्याउन पनि सकिँदैन, ती दुवै हुन् । जस्तो, वेद, उपनिषद्, पुराण, गीता, इपिक अफ गिल्गामेस, ओडिसी, इलियड, डिभाइन कमेडी, थस स्पोक जराथष्ट्र, नाउसी, दी स्ट्रान्जर, कामायनी, मेलानकोली अफ रेरिस्टान्सहरू साहित्यका माध्यमबाट लेखिएका दर्शन हुन् ।

साहित्यको आफ्नै दर्शन हुन्छ । न कथा, पात्र, प्रसंग र भावनाको आधारमा त्यसलाई दर्शन भन्न सकिँदैन न ती नभएका आधारबाट दर्शन भनिन सक्छन् । त्यसैले साहित्य र दर्शन एकै नभएर पनि एकार्कामा गहिरो नातामा रहन्छन् ।

विशिष्ठ दर्शन र साहित्यमा अभिव्यक्त हुने दर्शनमा के भिन्नता रहन्छ भने विशिष्ट दर्शन विचारलाई आख्यानीकरण, सौन्दर्यीकरण नगरीकन प्रस्तुत गर्दछ । तर, साहित्यले पात्र, घटना, आख्यान, अनुभूति, समानुभूति र परिवेशको चित्रणमार्फत जीवन दर्शन बताउँछ । दर्शन चेतनाको मझाइबाट सिर्जिन्छ, साहित्य हृदयका स्पर्शबाट । हृदयको स्पर्श र मष्तिष्कको मन्थनबाट निश्चित दृष्टिदेश गर्ने सिर्जना दार्शनिक साहित्य हो ।

प्लेटोको रिपब्लिकले कोरा दर्शन बताउँछ, लाज्स्लो क्राज्स्नाहोर्काइको दी मेलानकोली अफ रेसिष्टान्स, अल्वेएर कामुको सिसिफसको कथा, फ्रान्ज काप्mकाको दी जजमेन्ट, जयशंकर प्रसादको कामायानी, बालकृष्ण समको आगो र पानी आदिले अनुभूति, आवेग, विचार स्पर्शले दर्शनलाई बताइरहेको छ । विशिष्ठ दर्शन परीक्षित होला, तर आत्मस्पर्शभन्दा स्वाभाविक परीक्षण अरू कुन हुनसक्छ ? साहित्यमार्फत दर्शन जीवन्त गतिशील हुन्छ ।

आधुनिक दर्शनका पिता सुकरात भन्ने गर्थे– आत्माको परीक्षण, विवेकको ग्रहण, गहिरो प्रश्नबाट आत्मिक शुद्धीकरण गरेपछि मानिसले साँचो अर्थको जीवन पाउँछ । दर्शन र साहित्य दुवै मानव अस्तित्वको अन्वेषण गर्दछन् । साहित्यमा मानव अस्तित्व, मानव व्यवहार, नैतिकता र मानव प्रकृतिका आधारभूत प्रश्नहरूको अन्वेषण गर्न कथा, घटना, चरित्र र कथन विकास गरिएको हुन्छ, बौद्धिक संश्लेषण विश्लेषण, भोगाइ र भावनामा गरिन्छ ।

त्यसैले साहित्य दर्शन भए पनि रुखोसुखो (रफ एन्ड टफ) नभई हार्दिक हुन्छ । प्रयोजनका अर्थमा ज्ञान, मनोरञ्जन, अन्वेषण र आत्मसिञ्चन साहित्यको कर्म हो, जुन दर्शनको साध्यिक स्थान हो । दर्शन र साहित्य दुवैको स्रोत प्रकृति, पदार्थ र मानव व्यवहार हो ।

दर्शन र साहित्यका आदि उदाहरण वाल्मीकिकृत रामायण र १८ पुराण महाभारत हुन् । यी कृतिहरूले हिन्दु धर्म दर्शनका आधारमा जीवनमा अवलम्बन गर्नुपर्ने ज्ञान, सीप, स्वभाव, कर्म, बन्धुत्व र निष्ठालाई विभिन्न चरित्रका व्यवहारबाट देखाएको छ । यी कृतिहरू जीवनका आदर्श मार्गदर्शन हुन् ।

पूर्वीय शास्त्रीय परम्परामा रचिएका काव्यकृतिहरू रामायण र महाभारतका मानकीयतामा छन् । कालिदासका कुमारसम्भव, रघुवंश, भारवीको किरातार्जुन, माघको शिशुपाल बध, श्रीहर्षको निशाध चरित्र यसका उदाहरण हुन् । धिरोदत्त, वीर, आदर्श पात्रमार्फत आदर्श जीवन, आदर्श समाज व्यवस्था र रीतिथितीको स्थापना काव्यिक ध्येय थिए ।

आधुनिक समयमा लेखिएका कृतिहरूले दर्शन र दृष्टिकोणलाई प्रत्यक्ष वा विम्बात्मक रूपमा व्यक्त गर्दै आएका छन् । जयशंकार प्रसादको कामायनी महाकाव्यले मानवीय अस्तित्वको त्यतिखेर मात्र सम्भव छ, जुन समय हृदय र मस्तिष्कको सन्तुलन हुन्छ भन्ने अस्तित्ववादी दर्शनलाई विम्बात्मक रूपमा देखाएको छ । महाकाव्य एउटा प्रलयकारी कथामा आधारित छ, जहाँ मुख्य पात्र मनु महाप्रलयपछि मानवीय व्यवस्थाको खोजी गर्छ ।

महाप्रलय पनि प्रतीकीय अर्थमा छ । वैचारिक र भावनाको खोक्रोपनले मानव समाज महाप्रलयमा छ । मनुको जीवनमा श्रद्धाको प्रवेश हुन्छ; उनी प्रेम, विश्वास र भावनाकी प्रतीक हुन् । महाप्रलय एक खुलापन हो र श्रद्धाले त्यहा रस भरेकी छन् । तर, भावना, विश्वास र प्रेमले मात्र समाज र व्यवस्था चल्दैन, त्यहाँ व्यावहारिक ज्ञान चाहिन्छ । इदाको प्रवेशपछि ज्ञान र विश्लेषणको व्यावहारिकताले स्थान पाउँछ । दुवै भावना र भौतिकी पक्ष दुवै अपूरा छन् ।

श्रद्धाको प्रेम, भावना र विश्वास (हृदय पक्ष) र इदाको कर्म, व्यावहारिकता र अनुशासन (भौतिक पक्ष)ले प्रगति र सभ्यता सम्भव गराउछ । मन र मष्तिष्कबीचको सन्तुलन संसार समुन्नत र सभ्य बन्छ । यही सन्तुलनको दर्शन कामायनीले दिएको छ । कुनै पनि अति उचित हुँदैन (अति सवत्र्र बज्र्येयते) भन्ने कामायनीको दर्शन सन्देश हो ।

पूर्ण वा समुन्नत जीवनका लागि भौतिक प्रगति र मानवीय भावना दुवैको संयोजन चाहिन्छ । भावना मात्र भएमा अराजकता आउन सक्छ, तर्क मात्र भएमा दमन र अमानवीयता आउन सक्छ । त्यसैले सन्तुलन नहुँदा महाप्रलय हुन्छ । कविले खोजेको सन्तुलन स्थिर छैन, यो एउटा प्रक्रियाको निरन्तरतामा छ । मनु संयोजनकर्ता हो हो, श्रद्धा विश्वास (अमूर्त) र इदा बौद्धिकता (मूर्त) का विम्ब हुन् । कामायनी कविता मात्र होइन, कवितामा लेखिएको मानव जीवन हो । आधुनिक एकाङ्कीपनमा रहेको विश्वका लागि यसले गतिशील सन्देश दिइरहेको छ ।

‘जोर्बा द बुद्ध’मा जसरी आचार्य ओशोले उल्लेख गरेका छन्– आलेक्सिस जोर्बा मात्र भएमा भौतिक जीवन त यापन गर्न सकिन्छ, तर खोक्रो हुन्छ । सिद्धार्थ बुद्धले बुद्धत्व मात्र प्राप्त गरे, जुन आन्तरिक सुख मात्र हो, भौतिक जीवनलाई बेवास्ता गरे । भौतिक सुख वा आन्तरिक शान्ति दुवै अर्थमा जीवन आंशिक हो । त्यसैले गौतम बुद्ध (आन्तरिक विश्व) र आलेक्सिस जोर्बाको संयुक्त रूप जोर्बा बुद्ध मिलाएर नयाँ मनुष्यको परिकल्पना गरेका थिए, कामायनीमा मनु त्यही अवस्थामा छ ।

२०औँ शताब्दीमा लेखिएका उपन्यासहरू दार्शनिक साहित्यमा गहिरिएका छन् । तर, दर्शनका आयाम भने फरक छन् । राजनैतिक दर्शन दिने उपन्यासले शासकीय खराबीको समाज (डिष्टोनिया) को रूपान्तरण खोज्छन् । कतिपयले भने शास्त्रीय सीमा भत्काएर काल्पनिकताको समाज (युटोपिया) को खोजी गर्छन् त कोही असल शासनको खोजी गर्ने वैचारिक दृष्टिकोण प्रस्तुत गर्दछन् । यस्ता राजनैतिक वैचारिक उपन्यासहरू राजनैतिक रूपमा आग्रही वा निश्चित विचारधाराबाट प्रभावित देखिन्छन् ।

जस्तो कि रुसी लेखक योभ्गेनी ज्याम्यातिन आफैँ बोल्सेभिक संगठनका सदस्य थिए । बोल्सेभिक दलको सदस्य भएकै कारणले कारावास र निर्वासनको सजायले उनमा भएको वैचारिक दृष्टिकोणलाई प्रतीकात्मक रूपमा हामी (वी) उपन्यासमा व्यक्त गरे । यही उपन्यासको आधारमा पछि जर्ज अर्वेलले १९८४ लेखी शोभियतकालीन शासनमा मानिसहरू यन्त्रका रूपमा कसरी जीवन बिताइरहेका थिए भन्ने देखाइएको छ ।

त्यति बेला राजनीतिका नाममा मानिसहरू पिल्सिएका थिए । पुस्तकले मानिस मेसिनका रूपमा रहने वस्तु नभई आफ्नै प्रणालीको निर्माणकर्ता भन्ने स्वतन्त्रताको दर्शन दिन्छ । यस्तै, अलडोअस हक्सलेको दी ब्रेभ बल्र्ड, जर्ज अर्वेलको एनिमल फर्म, आर्थर कोइरको मध्याह्नको अँध्यारो डिस्टोपियन दर्शनलाई पछ्याउँदै राज्यलाई आदर्श अभिभावक बनाउन विम्बात्मक प्रस्तुतिमा छन् ।

जर्मन साहित्य आदर्शोन्मुख समाजको ध्येय राख्दछ । इमानुएल कान्ट, फ्रेडरिक हेगेल, आर्थर सोपेनहाउर, फ्रेडरिक नित्जे यही विचारबाट प्रभावित छन् । मानवीय अस्तित्वको खोजी उनीहरूको दर्शन हो । वैयक्तिक निजत्व, बाँच्ने इच्छा, सामर्थ्य र चाहनाहरूले मानवीय अस्तित्वको खोजी गरिरहेका हुन्छन् । मानवीय अस्तित्वको खोजीमा नित्जेले त ईश्वरीय शक्तिप्रति पनि आपत्ति जनाउँदै ईश्वरको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

हर्मन हेस सिद्धार्थमार्फत आन्तरिक तत्त्व ज्ञानको खोजी गर्दछन्, उनका लागि मानवीय अस्तित्व भनेको आत्मिक सिद्धि हो । जर्मन साहित्यमा आत्म र शरीर, भौतिक पक्ष र भावनागत पक्ष, परम्परागत संस्कृति र नवीन संस्कृतिबीचको द्वन्द्व पाइन्छ र आदर्श सामाजिक अवस्थाको निर्माण गर्ने ध्येय राख्दछ, जसरी जयशंकर प्रसादको कामायनीले यही विचार राखेको थियो ।

१९औँ शताब्दीसम्म जर्मन संस्कृति कविता, संगीत र दर्शनबाट प्रभावित रह्यो, २०औँ शताब्दीमा भने आख्यानबाट । हर्मन ब्रोख, इलियास केनेही, रबर्ट मुसिल, हर्मन हेस, फ्रेन्ज काफ्का र फ्रेडरिक नित्जे सबै लेखक तर्कवाद र स्वच्छन्दतावाद, मानिस र प्रकृति अनि एपोलोवाद र डोनियनवादको द्वेदाभाषमा संघर्षशील छन् ।

पाश्चात्य आँखाबाट पूर्वीय दर्शनलाई व्याख्या गरिएको हर्मन हेसको सिद्धार्थ नदीबाट जीवनको अर्थ खोज्छ, नदीको प्रवाहझैँ जीवनको प्रवाह खोज्छ । उमेरसँगै मानिस दिग्भ्रमित हुने क्रममा अघि बढ्छ, ज्ञान (जीवनको अर्थ) प्राप्त गर्न र भ्रमबाट मुक्त हुन साधना (ध्यान सन्न्यास) चाहिन्छ ।

सिद्धार्थ ओम जपिरहँदा पानीजस्तै सफा र नदीजस्तै गतिशील बने । नदीलाई प्रतीक बनाएर सिद्धार्थले दुई कुरा भनेका छन्– (क) मानिस नदीझैँ स्वच्छ हुनुपर्छ, नदीजसरी जहाँ पनि बगिरहनुपर्छ । यो बगाइले आफू मात्र सफा नबनी अरूलाई पनि आफूमा समाहित गरी माझ्न सक्छ ।

र, (ख) जसरी नदी बगेपछि फर्किंदैन, जीवन पनि त्यस्तै हो, सही निर्णय त्यही समयमा गर्नुपर्दछ । तर, जे जस्तो दर्शन दिए पनि दर्शन दिने सिद्धार्थको पृष्ठभूमि, कथा, घटना, पात्र नामकरण र समयक्रमलाई भने प्रश्न उठाउने ठाउँ छ । त्यसैले औपन्यासिक स्वामित्वमा हर्मन हेसको सिद्धार्थ प्रखर छैन ।

जर्मन स्रष्टाहरूमा फ्रेन्ज काफ्का अस्तित्ववादका विशिष्ट साधकका रूपमा स्थापित छन् । उनको अस्तिवाद अर्थहीन मानवीय जीवन, मानवीय एकाकीपन र शून्यवादका वरिपरि छन् । जाँ पाल सात्र्र र अल्वेएर कामुबाट अत्यधिक प्रभावित काफ्का आफ्नै जीवन र बाल्यकालमा पिता हर्मन काफ्काबाट उनीप्रति गरिएका व्यवहारलाई सिर्जनामा उतारेकाले ती उनका अन्तरस्वामित्वका विषय बनेका छन् ।

काफ्काका दी मेटामोर्फोसिस, दी क्यासल, दी जजमेन्ट, अमेरिका, लेटर अफ मेलिना, विफोर द ल, पेनाल कोलोनीबाट अस्तित्ववाद, व्यग्र निराशा र बेतुकी लेन्सबाट जीवनलाई नियालेका छन् । मुर्ख्याइपन, कर्मचारीतन्त्रीय दुस्वप्न, एकाकीपन, न्यायहीनताले सिर्जना गरेको अराजक संसारमा मानिसले व्यर्थझैँ संघर्ष गरिरहेको छ । उनका सबै कृति निरिस्वर अवसादीता (एव्जर्डनेस), प्रशासनिक दुस्वप्ना र कर्मचारीतन्त्रीय उल्झन, एकान्तपन र अन्तरशून्यता, अस्तित्वको पीडा र अर्थहीनता तथा न्यायहीन कानुनका वरिपरि घुमेका छन् ।

उनका यी विचारको समष्टि काफ्कास्क्यू दर्शनका नाममा प्रख्यात छ । काफ्कास्क्यू दर्शनले विचित्र, अवास्तविक, निरर्थकता र कर्मचारीतन्त्रीय शैलीले सिर्जना गरेको भारले बर्बाद पारेको जीवन हो । उनलाई परिवारदेखि समाजसम्म यसैले बर्बाद पारको थियो, त्यसैको प्रतिविम्बन कृतिहरूमा छ र त्यसैको आधारमा काफ्कास्क्यू दर्शन बनेको छ ।

काफ्काका अघि केही विम्ब छन्, बुबा नर्मन काफ्काको बडेमाको विम्ब छ, जुन ईश्वरभन्दा महान अनि राक्षसभन्दा भयंकर छ । उनलाई बुबाको विम्ब (व्यवहार र व्यक्तित्व)ले जीवनभर थिच्यो, उठ्नै दिएन, परिणामतः उनले आफूलाई यति हीन सम्झे कि उनी केही पनि होइनन्, विवाह पनि गर्न सकेनन्, चाहेको विषय पढ्न पनि पाएनन् । बुबाको डरले विपनामा मात्र होइन, सपनामा पनि आफूलाई निरर्थक सम्झिन्थे ।

दोस्रो विम्ब कर्मचारीतन्त्र र न्यायप्रणालीको छ । बुबाको कारण वकिल बने, न्याय र कर्मचारीतन्त्रले जीवनलाई बर्बाद गर्‍यो । अर्को विम्ब सामाजिक हैसियतको विद्रुपपन हो, जहाँ पैसा बोल्छ, सम्बन्ध हैसियतले निर्धारण गर्दछ । यी तीन कुराले काफ्काका कृतिमा डरको चित्र (हाइपर रियालिटी) देखिन्छ । जहाँ उनका प्रधान पात्रमा वैयक्तिक डर असुरक्षा छ, आफ्नो अयोग्ताको डर, बाँच्न नसक्ने डर, पागलपनको डर र प्रेमको डर ।

उनको मुख्य कृति मेटामोर्फोसिसले यही कुरा बताइरहेको छ । मेटामोर्फोसिसको पात्र ग्रेगर साम्सा विपनामा मात्र होइन, सपनामा पनि किरा बनेर जीवनलाई व्यग्र निराशामा पाउँछ, विपनाले मात्र होइन सपनाबाट पनि ऊ लघारिएको छ ।

ग्रेगर साम्सा प्रतीकका रूपमा उतारेर पारिवारिक वातावारण, सामाजिक संस्कृति र शासकीय व्यवहारले व्यक्तिलाई राम्रो वा नराम्रो बनाउँछ, उसका व्यक्तिगत छनौट र स्वतन्त्रता यसैबाट निर्धारित हुन्छ, गतिशीलता वा गतहीनता, सिर्जना वा आफ्नै अन्त्य यसैबाट निर्धा।ित हुन्छ भन्ने देखाइएको छ । कामु र सात्र्रबाट प्रभावित भए पनि अन्तरमनसम्म पुगेर आफैमाथिको प्रयोगमा उनका कृतिले दिएको अस्तित्ववादी दर्शन सात्र्र र काुमभन्दा पनि माथिल्ला छन् ।

काफ्कालाई लेखन आदर्श मान्ने हङ्गेरियन कवि/आख्यानकार लाज्स्लो क्रान्स्ज्नाहोर्काइ काफ्कास्क्यूलाई नै आफ्ना कृतिहरू सातान टाङ्गो, प्रतिशोधको उदासीनता, युद्ध अनि युद्ध, सेइवो दियर विलो, हख्र्त ०७७६९ मा शून्यवादी दर्शन (आनन्द ?) खोज्छन् । जीवन अँध्यारो संसारको अद्भुत यात्रा र व्यग्र निराशा हो भन्ने सन्देशमार्फत अविश्रान्त संघर्ष गर्न उनका कृतिले समजलाई उत्साह दिन्छ ।

लाज्स्लो भन्छन्, ‘जब म काफ्का पढिरहेको छैन, म काफ्का विषयमा सोचिरहेको हुन्छु, जब काफ्काका विषयमा सोचिरहको हुन्न, मैले काफ्कालाई गुमाइरहेको हुन्छु ।’ फ्रेन्ज काफ्काले झैँ लाज्स्लोले जीवन हेर्ने सङ्क्षेत्र निराशा र अर्थहीनतामा छ, एक्लिएको छ, त्यसैमाथि राज्यव्यवस्थाका नाममा ब्युरोक्रेसीले थिचेको छ र यस अवस्थामा जीवनको अर्थ र ओजन खोज्न संघर्षरत रहनुको विकल्प छैन, सफल असफल जे भए पनि ।

२१औँ शताब्दीको प्रविधिसूत्रको समयमा पनि क्रान्स्ज्नाहोर्काइ लामो अनुच्छेदभरिको वाक्य, फराकिलो अनुच्छेद, उदासी परिवेशको चित्रण, सम्मोहक विसर्जन (डिजलिच इफेक्ट) मा उत्तरआधुनिकताको प्रयोग गरिरहेका छन् । उनी महाकाव्यिक दायराका स्रष्टा हुन्, यानेकी युगले उनलाई ‘इपिक राइटर’ मानेको छ ।

साहित्यले निराशा र व्यर्थता प्रकट गर्दा समाज झनै अल्मलिन्छ भनेर नै व्यग्र निराशा बोक्ने कलाकृतिलाई राज्य नै खेद्न पछि परेको छैन । सिर्जनाले त आशा र उत्साहको प्यास जगाउनुपर्छ, निर्माण र शक्ति उमार्नुपर्छ । यसो नगर्ला भनी दार्शनिक प्लेटोले कविहरूलाई देशबाट घोक्रेठ्याक लगाउनुपर्छ भनी आक्रोश पोखेका थिए ।

उनले साहित्यलाई महामिथ्याको संज्ञा दिएका थिए । तर, सिर्जना शक्तिको महानताको कदर गर्दै उनका शिष्य आचार्य आरस्तुले मेशोडोनियका युवराज अलेक्जेण्डरलाई होमरका ओडिसी र इलिएडबाट राज्यकला प्रशिक्षणको सुरु गरेका थिए ।

यस्तै उदाहरण उत्तरवैदिककालका वशिष्ठ, विश्वामित्र, अगस्त्यका गुरुकुल (त्यति बेलाका विश्वविद्यालयजस्ता शैक्षिक अनुष्ठान)मा पनि पाइन्छ । साहित्यले आशा, उत्साह र आविष्कारको भोक जगाउँछ, सबैले बुझेको त्यही हो ।

संगीतमा निराशा अलाप्ने एलेन ग्रिन्सवर्गलगायत विटल्स र व्यग्र विन्दासी हिप्पीहरूलाई आलोचना गरिएको थियो । कतिपय हिप्पीहरू त बेपर्वाह जीवन रमाउन बुद्धत्वका खोजी गर्दे नेपाल समेत आएका थिए, उनीहरू आफ्नो देशमा अटाएनन्, पछि नेपालबाट पनि खेदिए । निराश पे्रमालापको ग्लुमी सन्डे प्रसारण प्रतिबन्ध लगाइयो ।

वेकेटको नाटक गोदोको प्रतीक्षालाई मञ्चन प्रतिबन्ध लगाइएको थियो । आखिर ती सबै निराशा र भग्नाशाले खोजेको कुरा मुक्ति वा अस्तित्व हो, मृत्यु होइन मोक्ष हो । उनीहरू त केवल संस्थापित आचरणबाट वाक्क मात्र भएका हुन् ।

तर, लास्ज्लो क्रान्स्ज्नाहोर्काइ २१औँ शताब्दीका ती व्यग्र निराशावादी भएर पनि विचारको गहिराइ र यथार्थको अभिव्यक्तिका कारण मागिएका स्रष्टा हुन् । शब्द स्थिर भए सभ्यता रोकिन्छ, शब्द गतिशील भए सभ्यता तंग्रिन्छ भन्ने लाज्स्लो विचारमा स्पष्टतासहित निक्खर समयचेत दिन्छन् ।

प्रस्तुति र संरचनामा शास्त्रीय भए पनि गहिरो विचार र दृष्टिकोण भएमा पाठकको मन जित्न सकिन्छ, सक्छन् भन्ने पुष्टि लास्ज्लो क्रान्स्ज्नाहोर्काइले गरेका छन् । यसबाट लेख्ने रहरमा रुमलिएका स्रष्टाहरूले पनि शिक्षा लिन सक्छन् ।

अस्तित्ववादले व्यक्तिगत स्वतन्त्रता, अर्थवत्ता, उत्तरदायित्व र आत्मीयतालाई केन्द्रस्थमा राख्छ । यो दर्शन वा अस्तित्ववादको सार व्यक्ति व्यवस्थित उद्देश्य लिएर जन्मेको हुँदैन, तर आफ्ना रोजाइ र कार्यहरूद्वारा आफूलाई परिभाषित गर्छ भन्ने हो ।

काफ्कास्क्यूको सार पनि यही हो । कतिपयले शून्यवादको सापेक्षमा अस्तित्ववादलाई लिएका छन् । तर, के भिन्न छ भने शून्यवाद जीवनको कुनै अन्तरनिहित अर्थ वा मूल्य छैन भन्ने विश्वास गर्दछ, जबकि अस्तित्ववादले व्यक्तिका स्वतन्त्र इच्छा र जिम्मेवारीमार्फत आफ्नो महत्त्व र अर्थ सिद्ध गर्दछ ।

फ्रेन्च साहित्य सापेक्षिक रूपमा दर्शनमा अघि छन् । भोल्टेएरको क्यानडिड त्यसको सन्दर्भविन्दु हो । यसले श्रेष्ठ विश्वमा सबै कुरा सम्भवतः असल हुनका लागि नै भएका हुन् भन्ने सकारात्मक दृष्टिकोण अघि सार्छ । क्यानडिडले धार्मिक, सामाजिक, राजनैतिक र नैतिक आयाममा रहेर दर्शनलाई अभिव्यक्त गर्दछ ।

तर, अनरे द बाल्जाक भोल्टएरको विपरीतमा प्रत्येक मानिस दोधारमा दोलायमान रहन्छ, बाँच्नका लागि निर्भयसाथ संघर्षको विकल्प छैन भन्दछ । साथै, प्रत्येक सफलताका पछि एउटा अपराध रहेकै हुने उनको तर्क छ ।

ओस्कर वाइल्ड भोल्टेएरका पथमा छन् । तर, जा पाल सात्र्र, अल्वेएर कामु अन्तरमनको विश्लेषण र अस्तित्वको उकुसमुकुसबाट अस्तित्ववादी दर्शन दिन्छन् । उनीहरूले खोजेको अस्तित्व नास्तिक अस्तित्ववाद हो । कामुको लेखाइको युफेरियाभित्र प्रमिथस (असफलतामा नथाक्ने), सिसिफस (अरिल परिश्रम) र नेमिसस (प्रतिशोध र विद्रोह)को सहयोगी शक्ति छ । अस्तित्वको दर्शनमा यिनै सहयोगी पृष्ठभूमि छन् ।

फ्रेन्ज काफ्काले भने यिनै कामुलाई आफ्नो रचनाको आदर्श माने । पृथक् नाट्य सन्देशका कारण २०आँै शताब्दीमा तहल्का मच्चाउने स्यामुएल बेकेट कामुको जसरी नै अस्तित्वको खोजी गर्दछन् । गोदोको प्रतीक्षा उनको विख्यात नाटक हो, जसले जीवनमा बेतुकीपन, अनिश्चितता र उद्देश्यहीनता छ, यिनै विसंगतिबीच संघर्षले जीवनको अर्थ खोज्नुपर्छ भन्ने दर्शन दिन्छ ।

१९औँ र २०औँ शताब्दीमा विकास भएको अस्तित्ववादका प्रयोगकर्ताहरूमा सेरेन किकगार्ड, फ्रेडरिक नित्जे, फ्योदोर दोस्तोभ्स्एस्की, जाँ पाल सात्र्र, अल्वेर कामु, मार्टिन हाइडेगेट र काफ्का प्रमुख हुन् ।

नेपालमा पनि राल्फा बन्नुअघिकी पारिजात, प्रेमा शाह, दौलतविक्रम विष्ट, विश्वेश्वरप्रसाद कोइरालाले अस्तित्ववादी धारालाई प्रयोग गरेका छन् । अस्तित्ववादी दर्शन केवल दर्शनका रूपमा मात्र नरही कविता, कथा, उपन्यास, नाटकमार्फत प्रयोग, व्याख्या र विश्लेषण हुँदै आएको छ ।

सात्र्रका अनुसार जीवन केही पनि होइन, बरु उसले आफूलाई कस्तो बनाउँछ त्यो हो । यो नै अस्त्विको पहिलो सिद्धान्त हो । कामुका अनुसार, (क) हामी जन्मजात स्वतन्त्र छौँ, (ख) हामी समाजप्रति जिम्मेवार छाँै, (ग) हाम्रो इच्छाको जीवन रोज्दा अस्तित्वको पीडा र संकटमा छौँ, (घ) हामीले खराब विश्वासमा कहिल्यै बाँच्नु हुन्न, (ङ) अस्तित्व बेतुकी पनि छ र (च) तर संघर्ष छाड्नु हुन्न ।

नित्जे बडो व्यावहारिक र अनौठो ढंगबाट अस्तित्वको खाजी गर्दछन् । उनी भन्छन्– नैतिकताको सौन्दर्यात्मक सम्बन्ध हुन्छ । यदि, कसैले साङ्लो मार्‍यो भने ऊ ठूलो मानिस हो, पुतली मारेचाहिँ अपराधी । जीवन त साङ्लो र पुतलीको उही हो, दुवै किरा हुन् । त्यसैले समाजले अपराध र सौन्दर्यशास्त्रबीच सम्बन्ध स्थापित गरेको छ ।

यही सम्बन्धको विरोधाभासबाट उनी अस्तित्वको खोजी गर्छन् । काफ्काको ग्रेगर साम्सा, पारिजातकी बरी, विश्वेश्वरकी सुम्निमा, दौलतविक्रमकी फ्राउलिन र अनन्त आआफ्नो अर्थबाट जीवन भोगिरहेका छन् ।

सात्र्रको हुनु र नहुनु (विइङ एन्ड नोथिङ), कामुको सिसिफसको कथा, साइमन डे भोएरको इथिक्स अफ एम्वीगुएटी, कामकुो दी स्ट्रान्जर, बेनेटको गोदोको प्रतीक्षा सबैले मानवीय अस्तित्व संकटका कारण अस्तित्ववादको विकास भएको हो । प्रत्येकको बुझाइ फरकझैँ लाग्छ, तर सबैले आआफ्ना अर्थमा जीवनको स्वतन्त्रता र अर्थ खोजिरहेका छन् ।

रुसी साहित्यकारहरू पनि फ्रेन्च साहित्यकारजस्तै अख्यानमार्फत दर्शन दिन पछि पर्दैनन् । इमान तुर्गानेभको बाबु र छोराले पुस्तान्तरको द्वन्द्वमार्फत जीवनको यथार्थवादी सन्तुलनको दृष्टिकोण दिन्छ । युवामा आभा रहन्छ, शक्ति छैन । वृद्धमा शक्ति छ, तर आभा छैन । दुवैको सन्तुलनमा मात्र जीवन पूर्ण छ भन्ने दृष्टिकोण यसले राख्दछ । जयशंकर प्रसादका कामायनीमा जस्तै यसले पनि सन्तुलन र संयोजन जीवन भनेको छ ।

फिलोसोपी इन एक्सन भनिने फ्योदोर दोस्तोएभ्स्कीको अपराध र दण्डले मानिसको सबैभन्दा ठूलो दण्ड आफ्नै अन्तरमनले दिन्छ भन्ने देखाएको छ । यसले मानिस आवेग र अन्धतामा तत्कालको सुखका लागि अग्रसर हुनु हुँदैन भन्ने मानवीय दर्शन दिएको छ । मानिसमा निरन्तर निरर्थकताको अनुभूति भइरह्यो भने प्रतिशोधलाई जन्मदिन्छ भन्ने सिद्धान्त पनि अपराध र दण्डले स्थापित गरेको छ ।

सेन्ट पिट्सवर्गको गरिब विद्यार्थी रास्कोलनिकोभको मानसिक पीडा र नैरन्तरिक द्विविधामा उपन्यास दोलायमान छ । सम्पत्तिको लोभमा एकजना पसलनीलाई मार्छ । अपराध छिपाउन सौतेनी बहिनीलाई पनि मार्छ । अपराध अनुसन्धान, अपराबोध, माया, घृणा र तनावमा उपन्यास वेगवान् छ । आफूले आफैँलाई दिएको सजाय र सजायपछिको नैतिक पुनरुत्थानमा उपन्यास टुंगिन्छ । उनी मानवीय स्वभाव सापेक्ष दर्शन दिन्छन् कि मानवीय चाहनाको सुरुआत असीमित त्वरिता हो र निष्कर्ष असीमित निरंकुशता । रुसी सात्यिमा मुुसोको दुलोबाट निस्किएका संस्मरणका रूपमा चिनिने दोस्तोएभ्स्कीका उपन्यासहरूले बेगल स्थान राख्न पुग्छन् ।

लियो टाल्सटायले युद्ध र शान्तिमा चामात्कारिक मानिस (जन्मदै ठूलो मानिस) प्रति असहमति जनाउँदै शक्ति इतिहासको घटनाबाट आउने नभई यो मानिसको सामूहिक इच्छाको संकलनबाट आउँछ भन्ने दृष्टिकोण राखेका छन् । त्यस्तै, राष्ट्र निर्माणको गतिशीलता पनि न शक्तिबाट हुन्छ न बौद्धिक क्रियाकलापबाट, न यी दुईको संयोजनबाट हुन्छ । यो त सर्वसाधारणको सहमति र सामूहिक जिम्मेवारीबाट मात्र सम्भव छ भन्ने उनको दृष्टिकोण छ ।

उनको अन्नाकरेनिना भने पारिवारिकवृत्तिमा रहन्छ । यसले युद्ध होइन प्रेमचाहिँ जीवन हो भन्ने जीवनदृष्टि राखेको छ । अन्ना करेनिनाको निष्कर्ष छ– सबै सुखी परिवारहरू उस्तै हुन्छन्, तर दुःखी परिवार आफ्नै शैलीमा दुःखी हुन्छ । पात्र लुमिन भावना र तर्कबीचको द्वन्द्वमा जकडिएको छ । श्रीमान् र सन्तानको माया गुमाएकी अन्ना आत्महत्याको चरणमा पुगेकी दुःखी पात्र हुन् । पात्रीय मनस्थिति र कार्यव्यवहारबाट खुसी खोज्नु अन्नकरेनिनाको दर्शन हो । रिसरेक्सन तत्कालीन समाजवादी दण्डप्रणाली र चर्चप्रथालाई पुनरुत्थान गर्न केन्द्रित छ ।

‘बौद्धिक कोमलता नै कविता हो’ भन्ने नेपाली वाङ्मयका महान् स्रष्टा बालकृष्ण सम कवितामा नाटक लेख्छन् । उनी बहुआयामिक स्रष्टा हुन् । विचार चिन्तन नै सिर्जनाको आत्मा हो, शिल्पले त्यसलाई सुन्दर मात्र बनाउने हो भन्ने निकर्ष उनका रचनाबाट जोकुनैले पाउन सक्छ । कविता, नाटक, कथा, निबन्ध, चित्रकारिता, अभिनय, पत्रकारितामा विशिष्ठ स्थान राखेका समका सबै सिर्जना बौद्धिकताका उत्कृष्ट अभिव्यक्ति हुन् ।

ईशोपनिषद्बाट चिन्तन प्रेरणा लिएका समका कृतिहरू आफैँमा चिन्तनका पुञ्ज हुन् । जीवन चेतना हो, ज्ञान हो । चैतन्य शून्यमा सबै जड हो भन्ने उनको दृष्टिकोण वैदिक दर्शनमा आधारित छ । उनको जीवनवादी सोच वैदिक दर्शन, एकत्ववादी चिन्तन र चैतन्य ज्ञानमा आधारित छ । बालकृष्ण सम भन्नेबित्तिकै हामी सबैको अगि आउने विम्ब भनेको दर्शन, बौद्धिकता र विचारको पुञ्ज हो ।

पाठक तथा समालोचकबाट नाट्य सम्राट र नेपालका शेक्सपियर भनिएका सम नाटक मात्र लेख्दैनन्, महाकाव्य (चिसो चुल्हो), खण्डकाव्य (आगो र पानी), दार्शनिक चिन्तन (नियमित आकस्मिकता), आत्मकथा (मेरो कविताको आराधना), कविता (माइ एक्प्रेसन आफ्टर डेथ, समका कविता) र विभिन्न विषय क्षेत्रमा नाटकहरू लेखेका छन् । विषय र विधा जे भए पनि समको रचनाको सार भनेको दर्शन हो, जीवनप्रतिको गहिरो चिन्तन हो । कही आख्यानीकरण गरेर त कहीँ भावाभिव्यक्तिमा त कहीँ संवाद–श्लोकमा सम चेतनाको ज्योति छर्छन् । उनका शब्द–संवादमा सामान्य अर्थ मात्र हुँदैन, जति गहिरो त्यति गहिराइ पाइन्छ ।

समको आगो र पानी, चार्ल्स डार्बिनको विकासवाद, लुइस मोर्गानको क्रूरता, बर्बरता र सभ्यताको मानवशास्त्र र युभल नोह हरारीको मानव जातिको इतिहास (स्यापिएन्स) को साझा स्वरूप हो । समका अनुसार सृष्टिका आधार आगो र पानी हुन्, तर आगो र पानी आफैँमा संघर्षरत छन्, दुईबीच सम्मिलन र सांयोगिकता पनि छ । परिणामतः जीव सृष्टि भयो । आगो र पानीले धर्म, दर्शन, राजनीति, भौतिकता, अध्यात्म, मानवता, विग्रह, विचारको चिन्तनप्रवाहलाई बौद्धिक लेपनमा प्रस्तुत गर्दछ ।

साहित्यका अध्येता र पाठकहरू साहित्यको अध्ययन मनोरञ्जनमा मात्र गर्दैनन्, ज्ञानको भोक मेटाउन र जीवनदृष्टि बुझ्नका लागि पनि साहित्य पढ्छन् । तर, लेख्ने हुटहुटी मात्र भएका स्रष्टा, मनोरञ्जनमा मात्र पढ्ने पाठक अनि आग्रहमा सतही समालोचना गर्ने समालोचकबाट साहित्यको दर्शन र दर्शनको साहित्य छायामा पर्न थालेको छ । 
 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्