site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘सायद किनाराहरू’मा भेटिएका अकिञ्चन

 उसो त स–शरीर उनीसँग भेटेको छैन । उनका काव्यसिर्जनाहरूमा भेटिरहेको मान्छे हो, उमेश अकिञ्चन । सुनेको छु, उनी नेपाल सरकारका कर्मचारी हुन् । आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्यलाई अत्यन्तै सुझबुझ र इमानदार भएर निभाउँछन् । त्यस्तै, कविता लेखनीमा पनि अलग पहिचान बनाउन सफल छन्, उमेश ।

गहिरा भाव र चिन्तनमा डुबेर कविता लेख्न सिपालु, उनका हरेक कवितामा निक्खरपन देखिन्छ । सुरम्य भावमा हृदयका भित्री गहिराइबाट कविता पर्गेलेर निकाल्छन् उनी । कविताका नीलनयनमा डुबुल्की मार्छन्, यसरी सौन्दर्य परागका बास्नाले भिजेका हुन्छन् उनका कविता ।

सुन्दरताको बखान कसरी गरूँ, उनको सिर्जना षोडशीजस्ता छन् । सलल बगेको कञ्चन पानीजस्ता लाग्छन् मलाई अकिञ्चनका कविता । यन्त्रवत् देखिन्नन् र त चलायमान लाग्छन् ।

सरल शब्दहरूमा कवितामा आफ्ना अभिव्यक्ति पस्किने उनको बानीको फ्यान हुँ म ।

सबल कविताहरूको वर्णन गर्ने शब्द पनि खोज्न सकिनँ मैले । उनी कवितामै समयसँग वार्तालाप गर्छन् । संवाद अगाडि बढाउँछन् । वास्तवमै कविशक्तिको व्यापक प्रकटीकरण भएको छ, ‘सायद किनाराहरू’मा ।

काव्यसंगठन बलियो भएका कविता सिजना गर्ने कविका ४१ थान कविताले सुसज्जित छ, ‘सायद किनाराहरू’ ।

आजको समय र सन्दर्भमा यथार्थताको प्रकटीकरणतिर प्रस्टै लामबद्ध छन्, उमेश । असन्तोष, निराशा, छटपटी र उदासीनता बढिरहेको वर्तमान परिवेशमा रहेको बेला उनी संविधान घोषणा भएको दिनतिर फर्किन्छन्–
यति बेला,
राजनीतिक दलले लेखेका
गलत नाराहरूको गल्ली हुँदै
हिँडिरहेछ यो देशको उमेर । 

भावनाका शब्दरूपी गुच्छा उनेर सुन्दर कविता बनाउने असल कर्ममा कवि निरन्तर लागिरहेका छन् । अनुभूतिका मोेटामोटा गुजुल्टाले कृतिमा कविताहरू भरिएका छन् । पाठकलाई उत्सुक बनाउने सामर्थ्यले भरिपूर्ण छ, कविताकृति ।

मानवतावादी र समानताका पक्षधर कवि त्यसैतिर लक्षित कविताहरूले किताबका भित्ता कोर्छन् । मानवता मर्दै गएको देखेर चिन्तित छन् कवि । विदेशिनु रहर नभई बाध्यता भएको भन्दै देशको हरक्षेत्रको दुर्गतिले चिन्तित कवि वर्तमान समयको सजीव चित्रलाई यसरी व्यक्त गर्छन्–
डोरीले बाँधेको 
३० केजीको सुटकेसभन्दा गह्रुँगो मुटु बोकेर
छाड्नुपर्छ यो देश
लाखौँ युवाहरूले 
देश निर्माण गर्ने
महान् सपनाका सिक्काहरू
यतै छाडेर ।

कवि मन सधैँ आन्दोलित हुन्छ बेथितिविरुद्ध, अधिकारका निम्ति । अग्रगमनको चाह राख्दै आशावादी भाव ओकल्ने कवि वर्तमान परिवर्तनप्रति सशंकित भएर भन्छन्–
हाम्रो ढोकाको डोरबेल
बज्न सक्छ
सबैभन्दा पहिले
खोस्नलाई आवाज बोकेको कलम ।

आजको डिजिटल युगमा रातभरमा उपन्यास लेखिसक्ने उपन्यासकार प्रकाश कोविद (जसका उपन्यास पढेर साहित्यमा बामे सारेको थिएँ मैले) खोज्छन् उनी । अघिल्लो पुस्तालाई प्रेमका सपना देख्न सिकाउँथे कोविद । कवि कतै कवितामा नोस्टाल्जिक बन्छन्, कहिले भोलिको चिन्ता गर्छन् ।

प्रायः प्राकृतिक विम्बमा कविता कोर्ने कविका यस्तै काव्यधुनहरू पाठकले पाउँछन् । र, मस्तिष्कमा ती धुन झङ्कृत भइरहेका हुन्छन् ।

यात्रामा पनि कविले कविता कोरेको बताउँछ, भित्रका सिर्जनाले ।

कल्पनाभन्दा पृथक् छन् उनका कविता । नौनीजस्ता नरम र फूलजस्ता सुन्दर कविता कोर्न सिपालु कवि समयका द्रष्टा लाग्छन् । कविताको प्रवाहको वेग यति धेरै छ कि पाठक त्यो वेगमा निर्बाध बग्न सक्छन् । यति रसिला छन् कि कविताका पारखीको प्यास ‘सायद किनाराहरू’ले मेटाइदिन सक्छ ।

कृतिमा निरर्थक, भड्किला र बोझिला शब्दहरूको रत्तीभर प्रयोग छैन । थोरै शब्दमा धेरै भाव अभिव्यक्त गर्ने कविताको शक्ति कृतिमा भेटिन्छ । शब्दहरूको वेगवान् प्रवाहमा भावसौन्दर्य र कलासौन्दर्य तिक्खर र सुन्दर शिल्पमा आएको छ, यस कृतिभित्र ।

बाँच्न पाउने हक जन्मसिद्ध नैसर्गिक हक हो । तर, यो मुलुकमा बाँच्नका लागि गोली खानुपर्ने परिस्थिति पटकपटक व्यहोर्नुपरेको छ । राज्यले अन्देखा गरेका, विभिन्न हिसाबले सुविधाबाट वञ्चितिकरणमा परेका/पारिएका आममान्छेका असाध्य पीडाले घोचिएका कविले यस्ता विषयमा सहज र सरल तर बलशाली कविता कोरेका छन् ।

देशमा अभावले विदेशिनु परेका मानिसको पीडा कविताको विषय बनेको छ । आफ्नै देशमा श्रम र सीप बगाउनुपर्ने पुस्ताको विदेश बर्हिगमनले उनलाई असाध्य पीडा हुन्छ ।

यसरी जीवनका विभिन्न विसंगत विषयहरू कविले कोट्ट्याएझैँ लाग्छ । कविको हृदयको मानचित्रमा केले घर गरेको छ भन्ने पुष्टि गर्ने साक्षीका रूपमा कृतिभित्रका कविता मैले पाएँ । समाजका हरेक कुरामा निर्निमेष आँखाले नियाल्ने कवित्वचेत उमेश अकिञ्चनको विशेषता लाग्छ ।

उनी दुःखको तालमा पौडिन पनि जान्दछन् । आशातित आँखाहरूले नजर लगाउँदै भविष्यमा हुने सम्भावनातिर आकलन गर्ने सचेतता पनि राख्दछन् । उमेश युगको जटिलतालाई सरल ढंगले प्रक्षेपण गर्न माहिर कवि लाग्दछन् ।

मानव जीवन, समय र जगत्प्रतिको फूलजस्तै कोमल र संवेदनात्मक अभिव्यक्ति नै उमेशका कविताका प्राण हुन् । उनको चेतन मनले प्रश्न गर्छ, नरम भावमा । दुःखका अनगिन्ती गाँठो कविताहरूले फुकाउँछन्, उमेश । कविताहरूले यथार्थलाई सत्यापन गरेका छन् ।

युगको आवाज बोल्ने कविले कोरा विवरणात्मक कविता लेखेका छैनन् । समयका पीडा कवितामार्फत पाठकसामु ओकलेका छन् । यसरी समकालीन यथार्थ औँल्याइदिएका छन् कविले ।

आफ्ना अनुभव र अनुभूतिलाई विम्बात्मक रूपमा पस्किने खुबी कविमा प्रशस्त छ । कविता लेखनशैली चित्ताकर्षक लाग्छ, सरल, सहज र सुबोध्य प्रतीकहरूको प्रयोग पनि उत्तिकै छ ।

सरल भईकन पनि गहकिला विषय उठाउन सक्नु कविको वैशिष्ट्य हो । सभ्यताको अनिवार्य सर्त कवितालाई मान्ने उमेश जहिल्यै अध्याँरोका विरुद्ध उभिएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्